
आज नेपाली कांग्रेसले मधेस प्रदेशका चार जिल्लामा अधिवेशन गर्दैछ। सिराहा, धनुषा, सर्लाही, र रौतहटमा आज अधिवेशन हुने कांगेसले जनाएको छ।
विभिन्न कारणले रोकिएका अधिवेशन आज गर्न लागिएको हो। अधिवेशनमा सर्वसम्मत रुपमा नेतृत्व छनोट हुने सम्भावना लगभग नभएको नेताहरुले बताएका छन्।
सर्लाहीमा संस्थापन पक्षबाट सुरेन्द्र सिंह र संस्थापन इतरबाट लक्ष्मण राय यादव सभापति पदका लागि चुनावी मैदानमा छन्।
त्यसैगरी रौतहटमा संस्थापन पक्षबाट सुनिल यादव र संस्थापनइतर समूहबाट हृदयनारायण यादव सभापति उठ्ने तयारीमा छन्।
धनुषाको सभापतिका त्रिपक्षीय भिडन्त हुने अवस्था छ। नेताहरु योगेन्द्र पञ्जियार, सन्तोष यादव र दिनेश यादवबीच सभापतिपदमा प्रतिस्पर्धा हुने देखिएको हो। पञ्जियार कांग्रेस नेता विमलेन्द्र निधि निकट मानिन्छन्।
त्यसैगरी सिराहामा संस्थापन पक्षबाट रामचन्द्र यादव र संस्थापनइतरबाट रामसुन्दर चौधरी सभापति पदमा भिड्दैछन्।
