ब्राेकर कमिसन परिमार्जनकाे काम कहाँ पुग्यो ?

२२ फाल्गुन २०७८, आईतवार १०:४९

नेपाल धिताेपत्र बाेर्डले ब्राेकर कमिसन परिमार्जन गर्ने तयारी स्वरूप तयारीलाई तीब्र पारेको छ ।

लगानीकर्ता आफैले अनलाइनबाट कारोबार गरिरहँदा पनि ब्रोकर कमिसन पुरानै, महँगो भएको भन्दै लगानीकर्ताले कमिसन घटाउन दवाव दिँदै आएका छन । 

हाल कायम रहेको ब्रोकर कमिसनलाई परिमार्जन गर्न आवश्यक तयारी स्वरूप अध्ययनकाे काम तीब्र पारिएको सेबाेनका अध्यक्ष रमेश कुमार हमालले बताएका छन ।

उनका अनुसार अहिले अन्तर्राष्ट्रिय बजारहरूमा कति ब्राेकर कमिसन लागू भएकाे छ भन्ने विषयमा बाेर्डले अध्ययन अघि बढाएको हो ।

साे अध्ययन कार्य सम्पन्न भएपछि आवश्यक प्रकृया पुरा गरी आवश्यकताका आधारमा हाल कायम ब्रोकर कमिसनलाई परिमार्जन हुने उनको भनाइ छ ।

गत वर्षको पुषमा सेयर कारोबार गर्दा लाग्ने ब्रोकर कमिसन घटेको थियोे । पछिल्लो समय ८५ प्रतिशत बढी सेयर कारोबार अनलाइनबाट हुँदै आएको छ। 

घटाउनु अघिसम्म ब्रोकर कमिसन ०.४ देखि ०.६ प्रतिशतसम्म लाग्दै आएको थियो । पुषमा घटेपछि भने ०. २७ देखि ०.४ प्रतिशतसम्म शुल्क लाग्दै  आएकाे छ। 

नयाँ व्यवस्थाअनुसार ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४ प्रतिशत ब्रोकर कमिसन लाग्छ । त्यस्तै ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत शुल्क लाग्छ । 

५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ०. ३० प्रतिशत र १ करोडभन्दा बढी रकमको कारोबार गर्दा ०.२७ प्रतिशत ब्रोकर कमिसन लाग्छ ।  

बोर्डले ३३ प्रतिशत कमिसन घटाएको थियोे त्यतिबेला । 

हाल कमिसन परिमार्जनका लागि अध्ययनकाे काम चलिरहेको र परिमार्जन पछि पुँजी बजारको विकास र विस्तारमा  थप टेवा पुग्ने बोर्डले जनाएको थियो ।