निर्जीवन बीमा कम्पनीकाे बीमाशुल्क संकलन माघमा मात्रै ३ अर्ब नजिक

२० फाल्गुन २०७८, शुक्रबार ०९:३९

चालु आवको माघ महिनामा निर्जीवन बीमा कम्पनीले दुई अर्ब ७२ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

माघ महिनाको अवधिमा सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनीले दुई लाख २० हजार २७२ वटा बीमालेखबाट सो बराबरको रकम संकलन गरेका हुन् ।

बीमा समितिद्वारा उपलब्ध तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीहरुको कुल व्यवसायमा बाग्मती प्रदेशको हिस्सा सबैभन्दा धेरै छ । तथ्यांकअनुसार यस अवधिमा निर्जीवन बीमा कम्पनीको कुल व्यवसायमा बाग्मती प्रदेशको हिस्सा ६३.०६ प्रतिशत छ ।

कम्पनीहरुले बाग्मती प्रदेशबाट एक अर्ब ७१ करोड ९४ लाख रुपैयाँ संकलन गरेका छन् ।

निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा कर्णाली प्रदेशको योगदान सबैभन्दा थोरै छ । यस अवधिमा कम्पनीहरुको कुल व्यवसायमा कर्णाली प्रदेशको योगदा १.१५ प्रतिशत मात्रै छ ।

यस प्रदेशबाट माघ महिनामा कम्पनीहरुले तीन करोड १२ लाख रुपैयाँ मात्रैको व्यवसाय गरेका छन् ।

बाग्मती प्रदेशपछि लुम्बिनी प्रदेशबाट कम्पनीहरुले २६ करोड ७२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको समितिको तथ्यांक छ । जुन कुल निर्जीवन बीमा व्यवसायको ९.८० प्रतिशत हुन आउँछ ।

यस्तै, निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा प्रदेश १ को हिस्सा ९.६३ प्रतिशत, मधेश प्रदेशको हिस्सा ७.१९ प्रतिशत, गण्डकी प्रदेशको हिस्सा ६.५० प्रतिशत र सुदुरपश्चिम प्रदेशको हिस्सा २.६७ प्रतिशत छ ।

यस अवधिमा सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने कम्पनीमा शिखर परेको छ । शिखरले माघ महिनामा ३२ करोड ७३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । माघ महिनामा कम्पनीले २३ हजार ८१७ बीमालेखबाट सो रकम संकलन गरेको हो ।

यस्तै, यस अवधिमा सगरमाथा इन्स्योरेन्सले २२ करोड ५७ लाख रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्सले १९ करोड ७० लाख रुपैयाँ र नेको इन्स्योरेन्सले १९ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।