
नेकपा माओवादी केन्द्रभित्र अहिले ठूलो संकट पैदा भएको छ ।
पार्टी अध्यक्ष प्रचण्डका कारण विगतदेखि फुटको शिकारमा पर्दै आएको माओवादी केन्द्र फेरी पनि उनकै कारण पार्टी विभाजनको सङ्घारमा पुगेको हो ।
एमसीसी जस्तो राष्ट्रिय मुद्दामा प्रचण्डले पूर्ववर्ती अडानबाट पछि हटेर पार्टीमा छलफलै नगरी एक्लौटी निर्णय लिदाँ माओवादी भित्र धेरै नेता तथा कार्यकर्ता उनीदेखि रुष्ट छन ।
एमसीसीको विरुद्धमा सडकमा माओवादी केन्द्रले अगुवा गरिरहँदा प्रचण्डले व्याख्यात्मक टिप्पणीको हवलामा सजिलोसँगै पास गर्न साथ दिए । त्यसैकारण माओवादी भित्र सङ्कटको सिर्जना भएको हो ।
विशेषगरी माओवादीका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठ अब प्रचण्डको पछिल्ला क्रियाकलापबाट आजित भएका छन र, उनी निकटका कार्यकर्ताहरूले प्रचण्डका पछिल्ला हर्कतबाट मिलेर बस्ने अवस्था बिथोलिँदै गएको निष्कर्शका साथ पार्टीबाट अलग भई छुट्टै पार्टी बनाउन नारायणकाजीलाई दबाब दिन थालेका छन । प्रचण्डको गराई मात्रै नभई पछिल्ला हर्कतहरू पार्टी विभाजनमा सघाउ पुग्ने खालका देखिन थालेका छन ।
प्रचण्डले एमसीसी पास भएको भोलिपल्ट सोमबार पत्रकार सम्मेलन गरी एमसीसी विरुद्धमा रहेका पार्टीका नेतामाथि खरो स्वभावमा आक्रोश पोखे । उनले पार्टीमा बस्न मन नलागेका बाहिरिएर गएपनि फरक नपर्ने आशयको अभिव्यक्ति दिए । यसले नारायणकाजीहरुको मन फाट्यो ।
प्रचण्डले श्रेष्ठप्रति टिप्पणी गर्दै भनेका थिए, ‘एमसीसीको विरोध गरे भएभरका सबै कार्यकर्ता मतिर केन्द्रित हुन्छन् भन्ने ठान्नु भएको होला । जनता सबै मतिरै ह्वार्र आउँछन् भन्ने ठान्नु भएको होला । एमसीसीको विरोध गर्न बित्तिकै सबै जनता आउँने भए प्रेम सुवालले लगातार मुर्दावादका मुर्दावाद गरि रहनुभएको छ । नेपालभरका सबै उहाँतिर जानु पर्ने हो, तर त्यस्तो हुँदैन ।’
महाकाली सन्धिमा एमालेले राष्ट्रघात गरेको भन्दै वामदेव गौतमले पार्टीबाट आधा केन्द्रीय सदस्य लगे पनि चुनावमा शून्य भएको विषयलाई प्रचण्डले स्मरण गराएका थिए । ‘तत्कालीन एमालेले महाकालीमा राष्ट्रघात गर्यौँ भनेर वामदेवजी पार्टी केन्द्रीय समितिको आधा लिएर जानुभयो। भोट आउने बेला जिरो भयो,’ प्रचण्डले भने, ‘त्यसैले एमसीसीमा कोही सेन्टिमेन्टमा आउँन जरुरी छैन । त्यसमा सबै स्पष्ट हुनु पर्छ ।’
प्रचण्डले घुमाउरो भाषामा पार्टी छोड्न आग्रह गरेको भन्दै श्रेष्ठले तत्कालीन एकता केन्द्र मसाल पक्षका नेता कार्यकर्तालाई फोन गरेर सोध्न थालेको एक नेताले बताए । ‘नारायणकाजी कमरेडलाई प्रचण्डले घुमाउरो भाषामा पार्टी छोडे हुन्छ भन्ने अभिव्यक्ति दिएपछि उहाँले आफू निकट नेता तथा कार्यकर्तालाई फोन गरेर कता लाग्ने भन्दै सोध्न थाल्नु भएको छ’, ती नेताले भने, ‘यदि मैले मेरो नेतृत्वमा पार्टी निर्माण गरेमा लाग्नुहुन्छ त ? भनेर सोध्नु थाल्नुभएको छ । पार्टी अध्यक्षले नै पार्टी छोड भनेपछि राजनीति गर्ने मान्छे त्यही पार्टीमा बसिरहने भन्ने हुँदैन । नयाँ पार्टी बनाएर जानुपर्छ ।’
तर, श्रेष्ठ निकट केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज जीवन गौतमले आफ्ना कुरा आगामी केन्द्रीय समितिमा राखिने बताए । यदि आफूहरुले उठाएका माग सम्बोधन नभए नयाँ पार्टी निर्माणको अवस्था आउन सक्ने गौतमको भनाइ छ । ‘प्रचण्ड कमरेडले पत्रकार सम्मेलन मार्फत सार्वजनिक रुपमै पार्टी छोडेर जान भनिसक्नु भएको छ । पार्टी छोड्ने वा नछोड्ने सल्लाह गरेर निर्णय गर्छौ’, उनले गौतमले भने, ‘तर, हामीले हाम्रो कुरा केन्द्रीय समितिमा राख्छौं । त्यसपछि के निर्णय निर्णय गर्छौं ।’
यसरी प्रचण्ड अडानबाट विचलित हुँदा विगतमा जनयुद्धका सहयात्री बाबुराम भट्राई, मोहन बैद्य, विप्लवहरुले उनलाई छाडेका थिए । फेरी पनी उनको साथ छाड्ने लहर बढ्ने खतरा पैदा भएको छ ।
