पूर्वएकताकेन्द्र समूहका नेताहरूले विद्रोह गर्न सक्ने सम्भावना,प्रचण्ड नारायणकाजीलाई भेट्न हात्तीवन

१७ फाल्गुन २०७८, मंगलवार १७:५४

व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने पार्टी लाइनको विपक्षमा रहेका नारायणकाजी श्रेष्ठसहित पूर्वएकताकेन्द्र समूहका नेताहरूले माओवादी पार्टीबाट विद्रोह गर्न सक्ने सम्भावना बढेको छ ।

नेताहरूले माओवादी पार्टीबाट विद्रोह गर्न सक्ने सम्भावना बढेपछि अध्यक्ष प्रचण्ड मंगलबार हात्तिवनस्थित नारायणकाजीको निवासमा पुगेका छन् । अमेरिकी सहयोग एमसीसी सम्झौता संसद्बाट अनुमोदन भएको विषयलाई लिएर माओवादीभित्र दुई लाइन संघर्ष चर्किएको छ ।

सोमबार खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले नारायणकाजी श्रेष्ठलाई पार्टी छाडेर गए हुन्छ भन्ने रुखो अभिव्यक्तिपछि पूर्वएकताकेन्द्रका नेताहरूले चित्त दुखाएका छन्,’ श्रेष्ठनिकट पूर्व एकता केन्द्रका एक नेताले भने, ‘कमरेड नारायणकाजीलाई अपमान सहेर प्रचण्डसँग बस्न सकिन्न भन्दै पूर्वसमूहका नेताहरूले दबाव दिइरहेका छन् । यही कुरो थाहा पाएर आज प्रचण्ड नारायणकाजीलाई भेट्न हात्तीवन जानुभएको हो ।’

पार्टीमा बस्न मन नलाग्नेहरू छाडेर जान सक्ने प्रचण्डको अभिव्यक्तिपछि माओवादीमा रहेका पूर्वएकताकेन्द्र समूहका साथीहरू तरङ्गित बनेको ती नेताले बताए । सोमबारको पत्रकार सम्मेलनमा प्रचण्डले एमसीसीबारे असहमति राख्ने अधिकार भए पनि सार्वजनिकरुपमा बोलेर श्रेष्ठले गल्ती गरेको बताएका थिए ।

विचार मिल्दा र मन लाग्दासम्म एउटै पार्टीमा बस्ने हो भन्दै प्रचण्डले एकै ठाउँमा रहन नसक्नेहरु अलग हुन सक्ने भाव प्रकट थिए । तर, पूर्वएकताकेन्द्रका साथीहरूले यसलाई ‘छाडेर गए हुन्छ’ भनेको अर्थमा बुझेका छन् ।

एमसीसी पारित हुँदा पार्टीभित्र र संसद्‍मा समेत गिरिराजमणि पोखरेल, अञ्जना बिसंखे लगायतका नेताहरूले असहमति जनाएका थिए । नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल लगायतले पार्टीको बैठकमा असहमति जनाएका थिए ।

पूर्वएकताकेन्द्रका नेताहरूले जस्तै कृष्णबहादुर महरा, राम कार्की लगायतले पनि एमसीसी अनुमोदनको विरोध गरेका थिए । एमसीसीको विरोध गर्दै आएका देव गुरुङले भने पार्टी लाइनलाई समर्थन गरेको सोमबारको पत्रकार सम्मेलनमा बताए ।