
अमेरिकी सहयोग मिलीनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्बन्धी सम्झौता संसद्बाट पास भइसकेकाले अब राष्ट्रको हित प्रतिकूल नहुने गरी यसको कार्यान्वयन हुनुपर्ने प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बताएको छ ।
विदेशी सहायताको सम्झौता गर्नु अगाडि यथेष्ट ध्यान दिनुपर्नेमा सम्झौता नै गरिसकेपछि यसको कार्यान्वयनमा लाग्नुपर्ने बताएको हो । एमालेले एमसिसीबारे पार्टीको धारणा सार्वजनिक गर्न आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एमसिसीको पक्षमा आफ्नो धारणा सार्वजनिक गरेको छ ।
सो अवसरमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसिसीलाई विकास परियोजनाका रुपमा लिनुपर्ने बताउँदै यसमा मतभेद, द्वन्द्व सिर्जना गरेर राजनीति नगर्न आग्रह गरे । एमसिसीको विरुद्धमा सडकमा कार्यकर्ता ओरालेर आन्दोलन गराउनु गलत भएको उनको भनाइ थियो ।
प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका अध्यक्ष ओलीले तत्काल ताजा जनादेशका लागि सरकार जानुपर्ने बताउँदै लोकतन्त्र र संविधान रक्षाका लागि कांग्रेस र एमालेबीच छलफल भएको बताए। उनले लोकतन्त्रका लागि लड्दै आएको नेपाली कांग्रेस र एमालेबीच सहकार्य हुनुपर्नेसमेत बताए ।
उनले एमसिसी पास गर्दा आफूहरूलाई संसदीय प्रक्रियामा सहभागी हुने वातावरणसमेत नबनाई एमालेलाई पाखा लगाउने काम भएको आरोप लगाए । अध्यक्ष ओलीले प्रतिनिधिसभामा प्रस्तुत गरिएको एमसिसीको व्याख्यात्मक टिप्पणी भ्रमको खेती भएको आरोप लगाए ।
एमसिसी सम्झौता इन्डो प्यासिफिक रणनीति (आइपिएस)को अङ्ग हो भनेर हल्ला चलाइएको तथा आफ्नो सरकारले संसद्मा पेस गरेर गल्ती ग¥यो भनिएको प्रसंग उल्लेख गर्दै उनले तत्कालिन मन्त्री प्रदीप ज्ञवाली अमेरिका गएर यसलाई आइपिएसको अङ्ग बनाइयो भनेरसमेत हल्ला चलाइएको बताए । अध्यक्ष ओलीले भने, “अमेरिका भनिरहेको छ आइपिएसको अङ्ग होइन । अहिले उनीहरुले पनि भने आइपिएसको अङ्ग होइन । व्याख्यात्मक घोषणामा पनि उनीहरुले होइन भनेका छन् । अनि ज्ञवालीले आइपिएसको अङ्ग बनाएको भनेर कोलाहल किन गरेको ?”
