
काठमाडौं उपत्यकामा विगत दुई सातादेखि थुप्रिएको फोहोर उठ्न नसक्दा घर–घरमै फोहोर थुप्रिन लागेको छ । तारकेश्वर नगरपालिका मुड्खु–तीन पिप्लेका स्थानीयले झन्डै दुई साता सडक रोकेर अवरोध गरेपछि काठमाडौं उपत्यकामा फोहोर उठ्न नसक्दा चोक–चोकमा फोहोरको थुप्रो लागेको छ ।
नौ वर्षसम्म पनि सडक निर्माण नभएको भन्दै तारकेश्वर नगरपालिका मुड्खु–तीन पिप्लेका स्थानीयले झन्डै दुई साता सडक रोकेर अवरोध गरेपछि काठमाडौं उपत्यकामा फोहोर उठ्न सकेको छैन।
सरोकारवाला निकायले मुड्खु–तीन पिप्लेका स्थानीयसँग सडक निर्माण तत्काल गर्ने प्रतिबद्धता जनाएपछि सडक अवरोध भने खुलेको छ । सडक अवरोध खुलेर काठमाडौं उपत्यकाको फोहोर उठाउन सुरु गरे पनि थुप्रिएको सबै फोहोर उठाउन अझै एक साता लाग्ने देखिएको छ ।
काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले तत्काल सडक बनाउने सहमतिसँगै काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर उठाउन सुरु गरिएको बताएका छन् । ‘फोहोर उठाउन सुरु भएको छ, थुप्रिएको पुरै फोहोर उठाउन अझै एक साता लाग्न सक्छ’ उनले भने ।
ठेक्का लागेर पनि विगत नौ वर्षदेखि पासाङ ल्हामु राजमार्गअन्तर्गत मुड्खु–तीनपिप्ले सडकखण्ड पिच नभएपछि स्थानीयले गत १ फागुनदेखि सवारी आवागमन ठप्प पारेर फोहोर उठाउन अवरोध सिर्जना गरेका थिए ।
