सत्तारुढ गठबन्धनको एउटा घटक राष्ट्रिय जनमोर्चा विप्लव नेतृत्वको नेकपा लगायत ६ वटा दल र दुई वटा मोर्चाले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव न्यून देखिएको छ ।
हिजो प्रतिनिधिसभाबाट एमसीसी सम्झौता अनुमोदन भएको विरोधमा आज बन्दको आह्वान गरिएको हो । तर, उक्त बन्द आह्वानलाई जनताले अवज्ञा गरेका छन्।
काठमाडौं उपत्यकामा बन्दको खासै प्रभाव नपरेको सुरक्षा स्रोतले जनाएको छ। बल्खुबाट दक्षिणकाली, फर्पिङ,कुलेखानी हुँदै हेटौंडालगायतका स्थानमा चल्ने टाटा सुमोका काउन्टरहरु खुलेको छ । केही टाटा सुमोहरु त्यसतर्फ गएका छन् ।
कीर्तिपुरबाट बल्खु हुँदै रत्नपार्क तथा लगनखेलसम्म चल्ने मिनीबस तथा अन्य सवारी साधनहरु आंशिक रुपमा चलेका छन् । चक्रपथमा पनि सवारी साधनको चाप सामान्य देखिन्छ भने ट्याक्सीहरु सुचारु रहेको बताइएको छ ।
यसैबीच आज बिहान ५ बजेको समयमा बन्द आह्वानकर्ताहरुले चाबहिलमा काठमाडौंबाट उदयपुर र सिन्धुली चल्ने दुई वटा सवारी साधनमा ढुंगा प्रहार गरेका छन् । प्रहारबाट बा।४ ख ७५१८ र बा।३ ख ४४२६ नम्बरका सवारी साधनहरुको पछाडिको सिसा फुटेको छ ।
सत्तारुढ गठबन्धनको एउटा घटक राष्ट्रिय जनमोर्चा लगायत ६ वटा दल र दुई वटा मोर्चाले आह्वान गरेको नेपाल बन्दलाई जनताले अवज्ञा गरेका छन्।
