एमसीसी सम्झौता अनुमोदन गर्न सघाएको भन्दै महराले पार्टी सदस्यता त्याग गरे

१६ फाल्गुन २०७८, सोमबार ०८:५५

एमसीसी सम्झौता अनुमोदन गर्न सघाएको भन्दै बहादुरसिंह महराले नेकपा माओवादी केन्द्रको पार्टी सदस्यता त्याग गरेका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको ८ नम्बर वडाका वडाध्यक्ष बहादुरसिंह महराले नेकपा माओवादी केन्द्रको पार्टी सदस्यता त्याग गरेका हुन् ।

उनले आज बिहान १० बजे जनतासित माफी मागेर वडाध्यक्ष पदबाट समेत राजीनामा दिने घोषणा गरेका छन् ।
उनले फेसबूकमा लेखेका छन्, ‘आजबाट नेकपा माओवादी केन्द्रले पनि राष्ट्रघाती एमसीसी सम्झौता पारितमा विभिन्न बहानामा सहयोग गरेकोले आजैबाट माओवादी केन्द्रको सदस्यता त्याग गरी राष्ट्रिय स्वाधीनता रक्षाको लडाइँमा आफ्नो अमूल्य जीवन समर्पित गर्ने संकल्प गर्दछु । साथै देश बेच्नेहरूको वडाध्यक्ष पदबाट जनतासित माफी मागेर राजीनामा गर्ने घोषणा गर्दछु ।’