
जिल्ला प्रहरी कार्यालय, चितवनमा अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा अर्को किटानी जाहेरी भएको छ । आइतबार आफन्तहरू सहित पीडित जिल्ला प्रहरी कार्यालय, चितवनमा अर्को किटानी जाहेरी दिन पुगेकी हुन् ।
‘एकदिनमा सकिने काममा जबरजस्ती करणी गर्ने उद्देश्यले थप एक दिन बस्न शाहले लगाएका थिए’ जाहेरीमा भनिएको छ । प्रहरीका अनुसार उनले लगेको जाहेरीमा ७ चैतमा चितवनको गैंडाकोट रिसोर्टमा सुटिङका बेला जबरजस्ती करणी भएको दाबी गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा गायिकाले शाहविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय, चितवनमा १५ फागुनमा जाहेरी दिएकी छन् । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख एसपी नवराज अधिकारीका अनुसार जाहेरीमा उल्लेख भएका विवरण अध्ययनपछि मात्रै दर्ता हुने र नहुने टुंगो हुनेछ ।
आइतबार शाह आफैं तनहुँ प्रहरीमा हाजिर भएका छन् । उनी हाजिर भइसकेपछि चितवनमा जाहेरी दर्ता हुन लागेको हो ।
‘जाहेरीको विवरण हेरेर सरकारी वकिलसँग राय लिन्छौं’ एसपी अधिकारीले भने, ‘दर्ता गरेर प्रक्रिया अघि बढाउन मिल्ने भए जाहेरी लिएर अनुसन्धान गर्छौं ।’
