जसपा पनि एमसीसीको पक्षमा उभिने

१५ फाल्गुन २०७८, आईतवार ११:२८

जनता समाजवादी पार्टी (जसपा) नेपाल पनि अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी संसद्बाट अनमोदन गराउने पक्षमा सहमत भएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी एमसीसीको बारेमा सकारात्मक बनेपछि जनता समाजवादी पार्टी (जसपा) नेपाल पनि एमसीसीको पक्षमा उभिने लगभग निश्चित भएको छ ।

जसपाका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई शुरुदेखि नै एमसीसीको पक्षमा खुलेर लागेका छन् ।
आज दिउँसो बस्ने जसपाको कार्यकारिणी समितिको बैठकले एमसीसीको विषयमा निर्णय गर्ने कार्यकारिणी समितिका सदस्य मिगेन्द्रसिंह यादवले बताए ।

भट्टराई र भट्टराई निकट सासदहरूले एमसीसीको पक्षमा निर्णय गराउन कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवलाई दबाब दिएका छन् । यादव अहिलेसम्म यस विषयमा खुलेका छैनन् । शनिबार बसेको कार्यकारिणी समितिको बैठकले एमसीसीको विषयमा संस्थागत निर्णय गर्न संघीय परिषद्का अध्यक्ष डा.भट्टराई, कार्यकारिणी अध्यक्ष यादव र नेता अशोक राईलाई जिम्मा दिएको थियो ।

आइतबार कार्यकारिणी समितिको बैठक बस्नुअघि भट्टराई, यादव र राईले छुट्टै बैठक गर्ने भएका छन । एमसीसीको विषयमा यी नेतावीच एउटै धारणा बने पछि कार्यकारिणी समितिको बैठक बस्ने कार्यक्रम तय गरिएको जसपाका नेताहरुले जनाएका छन् ।