नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी एमसीसी पारित गर्न तयार

१५ फाल्गुन २०७८, आईतवार १०:११

एमसीसीबारे छलफल गर्न सत्तारुढ पाँच दलको बैठक बस्दै छ। एमसीसीबारे छलफल गर्न आज बिहान १० बजे बैठक बोलाइएको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी एमसीसी परियोजनाको बारेमा पुरक प्रस्ताव अघि सारेर भए पनि यसलाई पारित गर्न तयार भएपछि सत्ता गठबन्धन दलको बैठकमा सहमति गर्न लागिएको जनाइएको छ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले एमसीसी अघि नबढे गठबन्धन तोडेर भए पनि नेकपा एमालेसँग सहकार्य गर्ने चेतावनी दिएपछि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी अप्ठ्यारोमा परेका छन्।

यी दुवै दलले एमसीसीको विरोध गर्दै आफ्ना नेता कार्यकर्ता सडकमा उतारेका छन्। एमालेसँग भएका निरन्तरका छलफलमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाट सहयोगको अपेक्षा भए अहिलेको गठबन्धन तोडिनुपर्ने बताएपछि कांग्रेसले माओवादी केन्द्र र एकीकृत समाजवादी माथि दवाब बढाउँदै गएको छ।

पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न नेकपा माओवादीको पूर्व स्थायी कमिटीको बैठक अध्यक्ष प्रचण्ड निवास खुमलटारमा जारी छ। यस्तै एकीकृत समाजवादीले विहान ११ बजे सचिवालयको बैठक बोलाएको छ।