
डडेलधुराका २७ वर्षीय हेमराज अवस्थी एमसीसीविरुद्ध काठमाडौंको बिजुलीबजार क्षेत्रमा भएको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका छन् । गम्भीर घाइते भएका अवस्थीलाई प्रहरीले रगत दिएको छ ।
फाल्गुन १२ बिहीबार (हिजो) बिजुलीबजार क्षेत्रमा भएको प्रदर्शनका क्रममा उनी घाइते भएका थिए । उनी कसरी घाइते भए भन्ने खुलेको छैन । टाउकोमा चोट लागेको छ । उनलाई सुरुमा राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको थियो । पछि शल्यक्रियाका लागि अन्नपूर्ण न्युरो अस्पताल रेफर गरिएको थियो ।
गए राति नै उनको अन्नपुर्ण न्युरो अस्पतालमा शल्यक्रिया गरिएको छ । शल्यक्रिया सफल भएको र उनलाई भेन्टिलेटरबाट आईसीयूमा सारिएको तथा स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले जानकारी दिए ।
शल्यक्रियाका लागि अवस्थीलाई तीन पाउन्ड ‘ओ’ नेगेटिभ रगत आवश्यक परेको थियो । जसमध्ये एक पाउन्ड रगत प्रहरीजवान समीनाथ यादवले दिएका हुन् । उनी प्रहरीको एक नम्बर गण नक्सालमा कार्यरत छन् । राति ९ बजे प्रहरी जवान यादवले रगत दिएका थिए ।
एसएसपी गिरीले भने, “ओ नेगेटिभ रगतको अभाव भएको जानकारी पाएपछि हामीले सबैतिर खबर गर्यौँ । नक्साल गणमा कार्यरत प्रहरीकै सो समूहको रगत भएको जानकारी पाएपछि हामीले थप समन्वय गरेर रक्तदानमा सहयोग गर्यौँ ।”
अवस्थी सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)को कार्यकर्ता भएको खुलेको छ । काठमाडौंमा टीकाथलीमा बस्दै आएका उनी डडेलधुराको नवदुर्गा गाउँपालिका–५ का स्थायी बासिन्दा हुन् ।
उनका बुवा माओवादी केन्द्रका वडा सचिव रहेको पनि खुलेको छ । उनी काठमाडौंमा कोरियन भाषा अध्यापन गराउँदै आएको र घरजग्गा कारोबारमा पनि संलग्न रहेको खुलेको छ ।
