
वरिष्ठ लोक गायक तथा अभिनेता जयनन्द लामाको पार्थिव शरीरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन्।
सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर मा राखिएको लामाको पार्थिव शरीरमा मन्त्री आलेले बिहीवार राष्ट्रिय झण्डा ओढाएका हुन्। यस्तै‚ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने पनि नाचघर पुगेर लामाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
मन्त्री आलेले कलाकार राष्ट्रका गहना भएको बताएका छन्। उनले भने‚‘देशलाई चिनाउने सच्चा देशभक्त कलाकार भएको र कलाकै माध्यमबाट स्वर्गीय लामाले पनि देशको चिनारी बढाउने काम गर्नुभएको थियो।’
देशमा हाल भइरहेका विभिन्न विकृति र विसङ्गतीलाई चिर्दै जान र राष्ट्र तथा राष्ट्रियता जोगाउन कलाकारले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेकामा मन्त्री आलेले जोड दिए। उनले स्वर्गीय लामाका परिवारमा समवेदनासमेत प्रकट गरे।
