नेपाल-भारत नवौं ऊर्जा बैठक : नेपालले केके एजेन्डा उठाउदैछ ?

११ फाल्गुन २०७८, बुधबार १३:५१

नेपाल-भारत नवौं ऊर्जा बैठक हायात होटलमा ३ बजेदेखि सुरु हुँदैछ । दुवै देशका सहसचिव स्तरीय आजको बैठकले पारित गरेका विषयलाई भोलि हुने ऊर्जा सचिवस्तरीय बैठकले अनुमोदन गर्नेछ । बैठकमा नेपाली पक्षको नेतृत्व ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले गर्नेछन् । भारतीय पक्षको नेतृत्व उसको विद्युत् मन्त्रालयका सहसचिव घनश्याम प्रसादले गर्दैछन् ।

बैठकमा सहभागी हुन लागेका एक नेपाली अधिकारी अनुसार नेपाल भारत संयुक्त प्राविधिक टोलीले तयार पारेको ‘नेपाल-भारत प्रसारण लाइन योजना’ को पूरक प्रतिवेदन प्रस्तुत हुनेछ । त्यसैगरी नेपाल भारत संयुक्त सञ्चालन समितिले तयार पारेको नेपाल र भारतबीच हुने ग्रीड सिंक्रोनाइजेशनको अद्यावधिक प्रतिवेदन पेश हुनेछ ।

दुवै प्रतिवेदन पारित भएपछि नेपाल र भारतबीचका विद्यमान प्रसारण लाइनहरुको अवस्थाका बारे र भविष्यमा निर्माण हुने १३२ केभी तथा ४०० केभीका प्रसारण लाइनहरुको बारेमा छलफल तथा समीक्षा हुनेछ ।

‘यसपटकको सहसचिव र सचिवस्तरीय बैठकमा महत्वपूर्ण एजेन्डा भनेकै नेपालमा वर्षायाममा जगेडा हुने बिजुली भारत निकासी गर्न सकारात्मक वातावरण तयार पार्नु हो,’ ती अधिकारीले बैठकअघि भने, ‘यसलाई मुख्य लक्ष्य मानेर बैठक अघि बढ्नेछ ।’

बैठकमा इनरुवा-पूर्णिया ४०० केभी र लम्की-बरेली ४०० केभी प्रसारण लाइनहरु क्रमशः सन् २०२५/२६ र २०२६/२७ मा आवश्यक पर्ने विषयमा समेत छलफल हुनेछ । नेपालको जलविद्युत विकासमा नेपाल र भारतबीच सहकार्यको खोजी गर्ने सम्बन्धमा समेत छलफल गरी कार्यक्रम तय भएको छ ।

यसअघिका ऊर्जा सचिवस्तरीय बैठकहरुमा प्रसारण संरचनाहरुबारे परम्परागत रुपमा छलफल हुँदै आएकोमा यसपालि हुने बैठकमा भने नेपालले विद्युत् व्यापारलाई प्रधान रुपमा उठाउने भएको छ ।