विकासमा राजनीति नगर्न राजनीतिक दललाई निजी क्षेत्रको आग्रह

९ फाल्गुन २०७८, सोमबार १९:५६

एमसीसीलाई लिएर चर्को राजनीति भइरहेको बेला विकासमा राजनीति नगर्न राजनीतिक दललाई निजी क्षेत्रले आग्रह गरेको छ ।

निजी क्षेत्रका ठूला संस्थाहरुले एमसीसीमा भइरहेको राजनीति अनुचित रहेको भन्दै त्यसो नगर्न नेताहरुलाई आग्रह गरेका छन ।

व्यवसायीहरूको संस्था नेपाल उद्योग परिसंघले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता प्रतिनिधि सभामा टेबल हुनु सकारात्मक भएको जनाउँदै स्वागत गरेको छ।

परिसंघले विज्ञप्ति जारी गरी एमसीसी सम्झौता संसद्‌मा टेबलका लागि आवश्यक पहल गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा र सम्पूर्ण राजनीतिक दललाई धन्यवाद दिएको छ। “अब सम्झौता संसद्‌बाट अनुमोदन भई कार्यान्वयनमा जाने र देशले आर्थिक लाभ हासिल गर्नेमा परिसंघ विश्वस्त छ,” विज्ञप्तिमा भनिएको छ।

नेपालको आर्थिक विकासमा रणनीतिक महत्त्व राख्ने विद्युत् र सडक क्षेत्रको विकासका लागि एमसीसी सम्झौता महत्त्वपूर्ण रहेको भन्दै प्रस्तावित आयोजनाको कार्यान्वयन दिगो आर्थिक विकासका लागि आधार हुने परिसंघको धारणा छ। दिगो विकासका लक्ष्य हासिल गर्न र कोभिड-१९ पश्चात्‌को आर्थिक पुनरुत्थानका लागि आवश्यक ठूलो लगानीका लागि यो परियोजना महत्त्वपूर्ण हुने परिसंघले जनाएको छ।

“हाल नेपालमा विदेशी मुद्रा सञ्चिति न्यून हुन गई देश गम्भीर आर्थिक सङ्कटोन्मुख भइरहेका वेला ठूलो राशिको सहायता कार्यान्वयन गर्न सक्दा त्यसले विदेशी विनिमय प्राप्तिमा पनि योगदान गर्छ,” परिसंघले भनेको छ।

परिसंघले यूरोप, एशिया, ल्याटिन अमेरिका र अफ्रिकाका ३० भन्दा धेरै मुलुकले एमसीसी सहायताबाट आफ्नो अर्थतन्त्रको गुणात्मक वृद्धि गरेको उल्लेख गर्दै नेपालले पनि परियोजना समयमै कार्यान्वयन गरी प्रविधि हस्तान्तरण, आयोजना कार्यान्वयन र विकास व्यवस्थापनमा नमूना प्रस्तुत गर्नुपर्ने जनाएको छ।

“विकासमा राजनीति नगर्ने सङ्कल्प प्रस्तुत गर्न सबै राजनीतिक दलमा परिसंघ हार्दिक आग्रह गर्दछ,” विज्ञप्तिमा भनिएको छ।