भारतीय व्यापारीहरुले गुणस्तरलाई कारण देखाउँदै चिया खरिद नगरेपछि निर्यात हुन बन्द भएको २० दिन पछि खुलेको छ । भारतमा चियाको गुणस्तरमा परिवर्तन हुने हल्ला चले पनि भारतीय व्यापारीले नेपालबाट चिया आयात गर्न बन्द गरेका थिए ।
चिया निर्यात हुन रोकिएपछि राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कलकत्ता रहको महावाणिज्य दूतलाई बोलाएर समस्या समाधान गर्न आग्रह गरेको थियो । महावाणिज्य दूतको पहलतमा २० दिनपछि चिया निर्यात पुनः सुरु भएको हो ।
भारतीय व्यापारीले गुणस्तरलाई कारण देखाउँदै चिया आयात गर्न रोकेको यो पहिलो पटक भने होइन । यसअघि पनि पटक पटक विभिन्न कारण देखाउँदै भारतीय पक्षले नेपाली चिया, अदुवालगायतका वस्तुको आयातमा कडाई गर्दै आएको थियो ।
भारतीय व्यापारीले नेपालको चिया न्यून गुणस्तरको हुने भन्दै आयात रोक्न लगाएका थिए । तर, राष्ट्रिय चिया तथा कफी विकास बोर्डले इण्डिय टी काउन्सिलबाट गुणस्तर सम्बन्धी कुनै पत्र प्राप्त नभएको बताउँछ ।
यस पटक पनि खाद्य प्रविधि गुण नियन्त्रण विभागको लापरवाहीका कारणले चियाको निर्यात रोकिएको हो । नेपालबाट निर्यात हुने खाद्य वस्तुको गुणस्तरमा प्रश्न उठाउँदै भारत सरकार र भारतीय व्यापारीले पटक-पटक अवरोध गर्न थालेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दिएको गुणस्तर चिन्ह्रलाई भारत सरकारले पनि मान्यता दिने सहमति भएको थियो । तर त्यसको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आफ्नो क्षमता वृद्धि गर्नुपर्ने सर्त राखिएको थियो ।
चिया, कफी, फलफूल, तरकारीलगायतका २२ प्रकारका खाद्य वस्तुमा नेपाल सरकारले दिएको गुणस्तर चिन्ह्रलाई भारत सरकारले मान्य दिने तर नेपालको ल्याबको गुणस्तर बढाउनु पर्ने भन्दै २०७६ सालमै नेपाल– भारत कृषिमन्त्री स्तरीय सहमति भएको थियो । नेपालले २६ प्रकारका वस्तुमा माग गरे पनि २२ प्रकारका वस्तुमा सहमति भएको थियो ।
एक वर्षभित्र यो मापदण्ड पूरा सक्नु पर्ने प्रावधान भए पनि तीन वर्ष भई सक्दा समेत पुरान भएपछि अहिले चिया निर्यातमा समस्या उत्पन्न भएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग कोरोनालाई कारण देखाउँदै पन्छिरहेको छ । विभागकी महानिर्देशक डा. मनिता जोशी ‘अपग्रेड’ गरी पठाए पनि कोरोनाका कारण फिल्ड भिजिट गर्न आउन नसक्दा लागू हुन नसकेको बताउँछिन ।
