ओमानलाई ३९ रनले पराजित गराउदै नेपाल विजय

६ फाल्गुन २०७८, शुक्रबार १५:४८

नेपालले पहिलो खेलमा ओमानलाई पराजित गर्दै विजय हासिल गरेको छ ।ओमानमा जारी टी–२० विश्वकप ग्लोबल क्वालिफायर अन्तर्गतको खेलमा ओमानलाई ३९ रनले पराजित गरेको हो ।

सुरुवातदेखि नै उत्कृष्ट बलिङ प्रदर्शन गरेको नेपालका लागि कमल सिंह ऐरीले ३ विकेट, कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान २÷२ विकेट तथा अविनाश बोहरा र जितेन्द्र मुखियाले १÷१ विकेट लिए ।

नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको ‌ओमान १७ ओभरमा ७१ रनमै अलआउट भयो । ओमानका लागि मध्यक्रमका नासिम खुसीले २४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । जतिन्दर सिंह र अरिम कलिमले समान ९÷९, खवार अलीले ७ रन मात्र बनाउन सके ।

यसअघि ओमानको अल अमिरात रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर ११७ रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन बनाए ।

आसिफ शेख पहिलो ओभरमै ४ रनको व्यक्तिगत स्कोरमा आउट भए । तेस्रो ओभरमा अर्का ओपनर कुशल भुर्तेल पनि ५ रनको स्कोरमा आउट भए । दुवैलाई ओमानका तीव्र बलर विलाल खानले क्याच आउट गराएका हुन् ।

पूर्वकप्तान ज्ञानेन्द्र मल्लले १५ रन, दीपेन्द्रसिंह ऐरीले ११, लोकेश बम १६, विवेक यादवले ७ रन जोडे । कप्तान सन्दीप लामिछाने १६ रनमा अविजित रहे । ओमानका खवार अलीले ३ र विलाल खानले २ विकेट लिए । साथै फयाज बुट र जिसन मुक्सुदले १÷१ विकेट लिए ।