
कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले एमाले सांसदले गरेको विरोधबीच प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरेका छन्।
आज पनि प्रतिनिधि सभाको बैठक शुरू हुने बित्तिकै एमाले सांसदले रोस्टम अगाडि उभिएर नाराबाजी गरे।
लगतै सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक ८ फागुन दिउँसो १ बजे बस्ने गरी आजको बैठक स्थगन भएको घोषणा गरेका थिए।
सत्तारूढ गठबन्धनको अर्को बैठक पनि ८ फागुनमा बस्ने भएको छ। त्यही बैठकबाट एमसीसी सम्झौताका विषयमा निर्णय हुने सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्।
आजको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता पेश गर्ने सरकारको तयारी थियो। तर, सत्तारूढ गठबन्धनबीच सहमति नहुँदा पेश हुन सकेन।
