शुक्रबार एमसिसी टेबल गरेर छाड्ने देउवाको अडान

५ फाल्गुन २०७८, बिहीबार १७:००

प्रधानमन्त्री शेरबहादुर देउवा फाल्गुन ६ गते शुक्रबारको संसद बैठकमा एमसिसी टेबल गर्ने पक्षमा उभिएका छन्।
यस्तै एमसिसी पास गर्न खोजे सत्ता गठबन्धन छोड्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी गराएका छन् ।

माओवादी केन्द्रको संसदीय दलले कम्तीमा गठबन्धन दलबीच सहमति नभई एमसिसी टेबल गर्न नहुने र ‘जबरजस्ती’ टेबल गरिए आफूहरूले त्यसको विपक्षमा मत हाल्ने निर्णय गरेको छ।

माओवादी केन्द्रले एमसिसीको विपक्षमा भोट नहाले पनि एमसिसी पारित गर्न सकिने कांग्रेसको आँकलन रहेको प्रधानमन्त्रीनिकट एक नेताले बताए।
अब कांग्रेस ब्याक हुँदैन। भोलि एमसिसी संसदमा टेबल हुनुपर्छ। टेबल भएपछि पास हुन्छ भन्ने हाम्रो विश्वास छ,’ उनले भने।

कांग्रेसले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले संसद अवरोध जारी राख्ने र मतदानमा भाग नलिने हुँदा सरकारबाहिर रहेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको सहयोगमा एमसिसी पास गराउने रणनीति बनाएको छ। त्यसबाहेक सत्तारूढ जनता समाजवादी पार्टीका सबै सांसदले मत नदिए पनि केही सांसदहरूले एमसिसीको पक्षमा भोट हाल्ने कांग्रेसको आकलन छ।

नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीका केही सांसदले एमसिसीको पक्षमा मतदान गरे भने माओवादी केन्द्र र अन्य दलका केही सांसदले विपक्षमा मत दिए पनि एमसिसी पास हुने बलियो सम्भावना छ।

मतदान भए माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का धेरै सांसद अनुपस्थित हुने कांग्रेसको ठहर छ।

प्रतिनिधि सभामा नेपाली कांग्रेसका ६३ सांसद छन्। त्यसमध्ये मोहम्मद अफ्ताब आलम र विजयकुमार गच्छदार निलम्बित छन् भने सांसद प्रदीप गिरि भारतमा उपचार गराइरहेका छन्। संसदमा कांग्रेसका ६० जना सांसद उपस्थित हुन सक्छन्।

लोकतान्त्रिक समाजवादी पार्टीका १२ सांसद छन्। जनता समाजवादी पार्टीमा बाबुराम भट्टराईसँग नजिक रहेका कम्तीमा ८ सांसदले पनि एमसिसीको पक्षमा मत हाल्ने कांग्रेसको विश्वास छ।