प्रचण्डलाई देउवाले दिए तीन विकल्प

५ फाल्गुन २०७८, बिहीबार १५:५६

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबल गरिछाड्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । देउवाले सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई  देउवाले एमसीसी संसदमा टेबल गर्न सहयोगका लागि आग्रह समेत गरेका छन् ।

माओवादी संसदीय दलको बैठकपछि बुधबार मध्यान्ह बालुवाटार पुगेका प्रचण्डलाई देउवाले एमसीसीमा मौन बस्न, विपक्षमा उभिन र सरकार छोड्ने भए छोड्न तीन विकल्प राखेका थिए ।

सत्ता साझेदार माओवादी केन्द्रले यथास्थितिमा एमसीसीको विपक्षमा उभिने निर्णय लिएपछि प्रधानमन्त्री देउवाले तीन वटा विकल्पबारे प्रचण्डसँग छलफल गरेका छन् ।

माओवादीले यथास्थितिमा जबरजस्ती एमसीसी टेबल गरिए सरकार छोड्ने चेतावनी दिएको थियो । अध्यक्ष प्रचण्डले पनि देउवालाई सरकार छोड्ने अवस्था आएको बताएपछि देउवाले यी विकल्प दिएको ती नेताको भनाइ छ ।

देउवाले बुधबार साँझ आफू निकट मन्त्री र केही पदाधिकारीसँग प्रचण्डसँगको उक्त भेटवार्ताबारे बिफ्रिङ गरेका थिए । एमसीसी पारित गर्न साथ दिन नसक्ने भए पनि टेबल गर्ने वातावरण नबिथोल्न प्रचण्डसँग प्रधानमन्त्रीले आग्रह गरेको एक काँग्रेस नेताले बताए। ‘हामी कुनै पनि हालतमा एमसीसी टेबल गराउन चाहन्छौं । त्यसका लागि प्रधानमन्त्रीज्यूले प्रचण्डजीलाई तीन विकल्प दिनु भएको छ,’ उनले भने ।