एमसीसीको विषयमा प्रधानमन्त्री देउवाले अमेरिकी राजदूत बेरीसँग भेटवार्ता के भने त ?

५ फाल्गुन २०७८, बिहीबार १४:०१

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। एमसीसी सत्ता गठबन्धनभित्र विवाद भएर बुधबारको कार्यसूचीमा नराखिएपछि साँझ देउवालाई भेट्न राजदूत बेरी बालुवाटार पुगेका हुन्।

एमसीसीको विषयमा सत्तागठबन्धनको तयारीबारेमा प्रधानमन्त्री देउवासँग राजदूत बेरीले जिज्ञासा राखेका थिए। देउवाले गठबन्धनभित्रका दलहरु एमसीसीका केहि प्रावधान संशोधन बिना पास नगर्ने अडान लिएकाले संशोधन र समयसीमा के हुने भन्नेबारे सोधेका थिए।

प्रचण्ड र देउवाले एमसीसी बोर्डलाई एमसीसी पास गर्ने प्रतिबद्धतासहित गोप्य रुपमा पत्र पठाएपनि पत्र सार्वजनिक भएपछि विपक्षमा मतदान गर्ने निर्णय संसदीय बैठकबाट प्रचण्डले गराएका छन्।
एमसीसी मुख्यालयले गोप्य पत्रमा सन् २०२२, फेब्रुअरी २८ भित्रमा एमसीसी मुख्यालयसँग प्रतिबद्धता गरेबमोजिम एमसीसी पारित गर्न देउवा र प्रचण्डलाई आग्रह गरेको उल्लेख छ।

देउवा र बेरीबीच भएको भेटवार्तापछि बिहीबार बिहानै प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पनि छलफल भएको छ। देउवाले उनीहरुबीच भएको छलफल जानकारी गराएका थिए।
प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपनि अन्तिम समयमा प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको आग्रहमा रोकिएको थियो। प्रचण्ड र नेपालले थप समय मागेकाले बुधबारको प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल हुन नसकेको हो।