
काठमाडौंका विभिन्न स्थानबाट अमेरिकी सहायता परियोजना एमसीसीको विरोधमा उत्रिएका १२१ जना पक्राउ परेका छन्।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार पक्राउ पर्नेमा १२ जना महिला र १०९ जना पुरुष छन्।
प्रहरीले काठमाडौंका प्रदर्शन गरिरहेका उनीहरुलाई पक्राउ गरेर विभिन्न प्रहरी युनिटहरूमा राखेको छ।
यस्तै प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारी समेत घाइते भएका छन्। तर घाइतेको एकिन तथ्यांक प्राप्त नभएको एसपी मैनालीले बताए। अहिले पनि बानेश्वर क्षेत्र तनावग्रस्त छ।
प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरिरहेका छन् भने प्रहरीले पानीका फोहोरा र अश्रुग्यास समेत प्रहार गरेको छ।सरकारले बुधबारको संसद बैठकमा एमसीसी पेश गर्ने तयारी गरेपछि सत्ता गठबन्धन र विपक्षी दलका कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन्।
माओवादी र एकीकृत समाजवादी र राप्रपाका कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन्।एमसीसी टेबुल गर्ने विषयमा सत्ता गठबन्धनमा सहमती नजुट्दा भोलि फेरि छलफल हुने भएको छ।
शुक्रबार बस्ने संसद बैठकमा पेश गर्ने तयारी रहेको कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले बताए।
