नेप्सेमा बुधबार सुस्ताता छाएको छ । मंगलबार अन्तिम एक घण्टामा ५० अंकभन्दा माथिको वृद्धि भएको सेयर बजार परिसूचक नेप्सेमा बुधबार सुस्ताता छाएको हो ।
मंगलबार ५३ अंकले वृद्धि भएर साढे २७०० अंकमाथि बन्द भएको नेप्से बुधबार भने दिनभरजसो रातो देखिँदा १९.८४ अंकले घटेर २७३४.४४ अंकमा बन्द भएको छ ।
नेप्सेसँगै अधिकांश उपसूचक ओरालो लागेका छन् । जीवन बिमा र अन्य उपसूचकमा भने सामान्य वृद्धि भएको छ ।
बजार परिसूचकमा नै सुस्तता देखिँदा कारोबार रकम पनि मुस्किलले तीन अर्ब रुपैयाँ पुगेको छ । आज दिनभरमा नेप्सेमा तीन अर्ब दुई करोड ६३ लाख ३१ हजारबराबरको कारोबार भएको छ । बजार परिसूचक र कारोबार रकम दुवैले बजारमा लगानीकर्ताको उत्साह भने घटेको देखिन्छ ।
घटेको बजारमा कारोबार रकममा हाइड्रोपावर कम्पनीमा आकर्षण देखिएको छ । अपी पावरको सर्वाधिक करिब २१ करोड १५ लाखको कारोबार हुँदा नेसनल हाइड्रोपावरको १७ करोड ७८ लाखको कारोबार भएको छ । यस्तै, अरुण भ्याली हाइड्रोपावरको करिब १६ करोड आठ लाख र नेपाल दूरसञ्चार कम्पनीको १४ करोड ८८ लाखको कारोबार भएको छ ।
दिनभरमा बजारमा १९१ कम्पनीको सेयर कारोबार भएकामा १५४ कम्पनीको सेयर मूल्य घटेको छ । ३२ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा पाँच कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
आज कारोबार भएका मध्ये गुराँस लघुवित्तको सेयर मूल्य सर्वाधिक ३.४४ प्रतिशतले वृद्धि हुँदा ज्योति लाइफको ३.२३ प्रतिशत, युनाइटेड इन्स्योरेन्सको २.७९ प्रतिशत र सगरमाथा इन्स्योरेन्सको २.७२ प्रतिशतले वृद्धि भएको छ ।
बुद्धभूमि हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ५.६९ प्रतिशतले गिरावट हुँदा मैलुङखोला जलविद्युत्को ५ प्रतिशत, सिंगटी हाइड्रोको ४.६९ प्रतिशत र सीडीडीबी हाइड्रोपावरको सेयर मूल्य ४.०३ प्रतिशतले गिरावट भएको छ ।
