गम्भीर घाइते भएका मनीष डाँगीको आज अस्पतालबाट डिस्चार्ज

३ फाल्गुन २०७८, मंगलवार १६:०९

मच्छिन्द्र फुटबल क्लबका मिडफिल्डर मनीष डाँगी शनिबार भएको च्यासल युथ क्लबविरुद्धको खेलमा चोट लागेर गम्भीर घाइते भएका थिए । डाँगी आज अस्पतालबाट डिस्चार्ज भएका छन् । मछिन्द्रले मंगलबार सामाजिक सञ्जालमार्फत मनीष अस्पतालबाट डिस्चार्ज भएको जानकारी गराएको छ।

राष्ट्रिय टोलीका सदस्यसमेत रहेका मनीषलाई शनिबार सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबार भएको च्यासल युथ क्लबविरुद्धको खेलमा गम्भीर चोट लागेको थियो ।

च्यासलका केचा यान्निकसँग जुध्न पुग्दा उनी ६६ औं मिनेटमा मैदानमै बेहोस भएर ढलेका थिए । उनलाई तत्काल मैदानमै सीपीआर दिइएको थियो । प्राथमिक उपचारपछि रंगशाला नजिकैको ब्लु क्रस अस्पतालमा उनलाई भर्ना गरिएको थियो ।