सभामुख सापकोटा र प्रधानमन्त्री देउवाबीच फोनमार्फत कुराकानी

३ फाल्गुन २०७८, मंगलवार १३:१२

सभामुख अग्निप्रसाद सापकोटा र प्रधानमन्त्री शेरबहादुर देउवाबीच फोनमार्फत कुराकानी भएको छ । सभामुख अग्निप्रसाद सापकोटालाई प्रधान मन्त्री देउवाले कांग्रेस संसदीय बैठकको बीचमै फोन गरेका थिए । त्यसक्रममा प्रधान मन्त्री देउवाले सभामुख सापकोटालाई कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन आग्रह गरेका छन् ।

बानेश्वरमा बसिरहेको बैठकबाटै सभामुखलाई फोन गरेका प्रधान मन्त्री देउवाले भनेका छन्, ‘कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुस् र छलफल गर्नुस्, बुधबारको संसद् चल्नुपर्छ ।’ बैठक हलबाट एक सांसदले भने, ‘प्रधान मन्त्रीज्यूले त्यसरी सभामुखजीलाई आग्रह गर्नुभएको छ । उहाँले आज वा भोलि बिहान बैठक बोलाउनुहोला ।’

कांग्रेसले एमसीसी संसद्‌बाट पारित हुनुपर्ने बताउँदै आएको छ । मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले पनि एमसीसी संसद्‌बाट पारित गर्नुपर्ने निर्णय गरेका छ । यसअघि कानूनमन्त्रीसमेत रहेका कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले बुधबारको संसद्‌मा एमसीसी टेबुल हुने बताएका छन् ।