
फाल्गुन ४ गते बुधबार बस्ने प्रतिनिधि सभाको संसद बैठकमा कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले एमसीसी टेबल हुने संकेत दिएका छन्।कानुन मन्त्री बडूले नेपाली कांग्रेसको संसदीय दलको बैठक चलिरहँदा सञ्चारकर्मीसँग कुरा गर्दै सम्भवतः बुधबार (भोलि)को सदनमा एमसीसी पेस हुने प्रतिक्रिया दिएका हु्न् ।
नयाँ बानेश्वर स्थित संसद भवनमा काँग्रेसको संसदीय दलको बैठक जारी रहेको छ भने सांसदहरुलाई पूर्वअर्थमन्त्री डा. रामशरण महतले एमसीसीबारे ब्रिफिङ गरेका छन् । काँग्रेस शुरु देखि नै एमसीसीको पक्षमा रहेको छ । यस अघि विपक्षमा हुदा पनि काँग्रेसले एमसीसी प्रस्ताव सरकारले ल्याएमा समर्थन गर्ने बताउदै आएको थियो ।
तर अहिले सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणामाथि महाअभियोग प्रस्ताव दर्ता गरेपछि भने यसलाई एमसीसीसँग जोडेर हेरिएको छ । सत्तारुढ गठबन्धन भित्र एमसीसी बारे विवाद बढेपछि गठबन्धन टुट्ने संघारमा पुगेका बेला प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउदै एमसीसी बारे सहमति गरिएको चर्चा चलिरहेको छ ।
