
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका माधव कुमार नेपालसँग प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना (एमसिसी) बारे छलफल गरेका छन्।
एमसिसी परियोजनालाई कसरी अगाडि बढाउने भन्नेबारे मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा तीन नेताबीच छलफल भएको हो।
प्रधानमन्त्री देउवाले बुधबारको बैठकमा एमसिसी पेश गर्न चाहेका छन्। तर प्रचण्ड र नेपालले भने केही समय पर्खिन भनेका छन्।
मंगलबारको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरामाथि लगाइएको महाभियोगबारे समेत छलफल भएको थियो।
अवरूद्ध प्रतिनिधिसभा बैठक सुचारू र एमसिसीलाई संसदमा कसरी अघि बढाउने भन्ने विषयमा सोमबार सभामुख अग्नि सापकोटाले सर्वदलीय बैठक बोलाएका थिए।
बैठकपछि सभामुख सापकोटाले दलहरूबीच सहमति भए आफूले अमेरिकी सहयोग परियोजना एमसिसी संसदमा टेबल हुन नरोक्ने बताएका थिए।
सोमबार सिंहदरबारमा भएको सर्वदलीय बैठकपछि संवाददातासँग कुरा गर्दै सभामुख सापकोटाले आफू अम्पायरको भूमिकामा रहेकाले दलहरूबीच सहमति गरेर सरकारले ल्याएका प्रस्ताव आफूले नरोक्ने बताएका हुन्।
