मतगणना अपडेट: ५ स्थानमा बाम विजयी, अधिकांश स्थानमा अगाडि

२२ मंसिर २०७४, शुक्रबार ०५:२७

मंसिर २२, काठमाडौँ । मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको मत गणनामा बाम गठबन्धनका उम्मेदवार पाँच स्थानमा विजयी बनेका छन् । साथै मतगणना भइरहेका स्थानमा अगाडि वाम उम्मेदवार नै अधिकांश स्थानमा अगाडि देखिएका छन् ।

प्रतिनिधि सभातर्फ एमाले १७ र माओवादी केन्द १३ स्थानमा अगाडि छ । त्यस्तै प्रदेशतर्फ एमाले २७ र माओवादी केन्द्र १९ स्थानमा अग्रता लिएको छ । मुस्ताङमा एमालेका प्रेमप्रसाद तुलाचन प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । तुलाचन ३ हजार ५ सय ४४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोमी गौचन थकालीले ३ हजार २ सय ८१ मत मात्र ल्याएका छन् ।

यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा थकालीले जित हासिल गरेका थिए । उनी त्यसपछि मन्त्रीसमेत भएका थिए । मुस्ताङमा पहिलो चरणमा मंसिर १० गते मतदान भएको थियो भने बिहीबार साँझ ५ बजेदेखि मतगणना सुरु भएको थियो । यसअघि मुस्ताङकै क प्रदेशमा एमालेका इन्द्रधारा विष्टले जित हासिल गरेका थिए । हिमालपारिको जिल्ला मुस्ताङमा एक प्रतिनिधीसभा र दुई प्रदेशसभा सदस्य गरी तीनै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।

त्यस्तै, प्रदेशसभा तर्फ निर्वाचन क्षेत्र खमा वाम गठठबन्धनकै महेन्द्रबहादुर थकालीले २४८४ मत ल्याएर विजयी भएका छन् ।

यसैवीच रुकुम पूर्वमा कमला रोका विजयी
प्रतिनिधिसभा निर्वाचन तर्फ माओवादी केन्द्रले रुकुम पूर्वबाट खाता खोलेको छ । माओवादी केन्द्रकी उम्मेदवार कमला रोकाले आफ्ना प्रतिद्धन्द्धी कांग्रेसका हरिशंकर घर्तीलाई १४ हजार ४ सय ३४ मत ल्याएर पराजित गरेकी हुन् । घर्तीले ४ हजार ४ सय ६ मत पाएका थिए । रुकुम पूर्वमा २७ हजार ९ सय २८ मतदाता रहेका छन् ।
रुकुमबाट यसअघि माओवादीकातर्फबाट समानुपातिक सभासद् रहेकी कमला रोका माओवादी राज्य समिति सदस्य हुन् । २०३२ सालमा रुकुमको प्वाँङमा जन्मिएकी रोका २०४६ सालदेखि राजनीतिमा लागेकी हुन् ।

यसैबीच डोल्पा प्रदेश क मा वामगठबन्धनका उम्मेदवार नन्दसिंह बुढा विजयी भएका छन् ।

बुढाले ५ हजार ४ सय ९० मत ल्याएका छन् ।

उनका प्रतिद्धन्दी कांग्रेसका बेगमसिं ठकुरीले १२ सय १३ मत ल्याएका छन् ।