इमर्जिङ नेपाल लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा अन्तिम दिन आइतबारसम्ममा २४ लाख १५ हजार ९१९ वटा आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आइतबार साँझ ५ः१७ बजेसम्म उल्लेखित संख्याबाट २ अर्ब ७८ करोड ६९ लाख १९ हजार रुपैयाँ बराबरको २ करोड ७८ लाख ३५ हजार ४२० कित्ताको आवेदन परेको हो । यो संख्या सर्वसाधारको लागि बिक्री खुला गरिएको (५ लाख १६ हजार ७०८) कित्ताको ५३.८७ गुणा बढी हो ।
कम्पनीले माघ २६ गते बुधबारदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ निष्कासन जारी गरेको हो । जसमध्ये जारी पूँजीको २ प्रतिशत अर्थात् ११ हजार ११२ कित्ता सेयर कम्पनीको कर्मचारीहरुका लागि र जारी भएको कुल सेयरमध्ये ५ प्रतिशत अर्थात् २७ हजार ७८० कित्ता म्युचुअल फण्डको लागि छुट्याएर बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ ।
इमर्जिङ नेपालको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी प्लस’ रेटिङ दिएको छ । यसले वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम जनाउने संकेत गर्दछ ।
कम्पनीमा संस्थापकमध्ये सबैभन्दा धेरै चन्द्र प्रसाद ढकालले ७ लाख ५० हजार ६० कित्ता सेयरमा लगानी गरेका छन् । यस्तै, शुभाष चन्द्र संघाईले ६ लाख २५ हजार कित्ता र प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको ६ लाख २२ हजार कित्ता सेयर स्वामित्व छ ।
