राजस्व चुहावट गरेको अभियोगमा ७ जनाविरुद्ध मुद्दा दायर

२४ माघ २०७८, सोमबार ०८:४२

राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा ७ जनाविरुद्ध उच्च अदालत पाटन हेटौंडा इजलासमा मुद्दा दायर गरेको छ ।

विभागले मकवानपुर मनहरी–६ का विशाल राई, सिन्धुली भीमस्थान–५ का मुकुन्दप्रसाद काफ्ले, वीरगञ्ज महानगरपालिका–२२ का इन्तयाजुल हक मन्सुरी, सोही स्थानका इन्ताज मन्सुरी, धादिङ गजुरी–४ का सन्तोषी नेपाली, पर्सा बगही–९ का रुपेश तिवारी र अर्का ठेगाना नखुलेका देवलाल कुशवाहाविरुद्ध मुद्दा दायर गरेको हो ।

विभागले अभि ट्रेडर्स कलैया–७ बाराको गत मङ्सिर ३ गतेको विजक नं ७१ बमोजिम प्लास्टिकको दाना बोकेको ना७ख ७२५ नम्बरको ट्रकमा चालक विशाल राईले विजक र प्रमाणपत्रबिनाको ३१ पोका कपडा वीरगञ्जबाट लुकाइछिपाइ काठमाडौँतर्फ ल्याइरहेका बेला पक्राउ गरेको थियो ।

विभागले आरोपी सात जनाविरुद्ध ५८ लाख ७९ हजार ७४६ रूपैयाँ बराबरको बिगो कायम गरी यही माघ २० गते मुद्दा दायर गरेको आज प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

उनीहरु विरुद्ध राजस्व चुहावट ऐन २०५२ को दफा २३ (१) (क) बमोजिमको सजाय हुन तथा सोही ऐनको दफा २३(४) बमोजिम बुझाउनुपर्ने राजस्व रकमको ब्याज समेत असुल उपर हुनको साथै बरामद भएको विल विजक र भन्सार प्रज्ञापणपत्र विनाको ३१ पोका कपडा ऐनको दफा ३३ बमोजिम जफत हुन मागदावी लिई अभियोग पत्र दायर गरिएको हो ।