हत्याराहरु सार्वजनिक उक्त घटनाको विषयमा गम्भीर अनुसन्धान अघि बढाइदै

२१ माघ २०७८, शुक्रबार १६:३२

मोरङको धनपालथन गाउँपालिका ७ को उखुबारीमा गत माघ १३ र १४ गते गाडिएको अवस्थामा शम्भु चौधरी र राजेन्द्र बहादुर श्रेष्ठको शव भेटिएको थियो । उक्त हत्या घटना दाङ तुलसीपुर–घोराही फोरलेन सडकसँग सम्बन्धित रहेको पाइएको छ । दाङ तुलसीपुर–घोराही फोरलेन सडकका नयाँ ठेकेदार शम्भु चौधरी भएको पाइएको छ ।

उक्त ठेक्का शम्भु चौधरी लगायतका समूहले १ अर्ब ३५ करोडको लागतमा हालसालै मात्रै अर्का पेटी ठेकेदार अनुप पाण्डे लगायतको समूहबाट लिएको दाबी गरिएको छ । ठेक्का लिँदा शम्भुको समूहले पाण्डे समूहलाई करिब ५ करोड रुपैयाँ बुझाइसकेको बताइएको छ । शम्भुको समूहले तुलसीपुर–घोराही सडकखण्ड निर्माणका लागि बैंक ग्यारेन्टी राख्नका लागि जग्गाको समेत खोजी गरिरहेका थिए । त्यही क्रममा उनको हत्या भएको थियो ।

प्रहरी स्रोतका अनुसार तुलसीपुर–घोराही फोरलेन सडकखण्ड निर्माणका सम्बन्धमा संलग्नता र लेनदेनका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । स्रोतका अनुसार उक्त सडकखण्ड निर्माणको नयाँ ठेक्काको लागि शम्भु चौधरीको समूहले अनुप पाण्डेलाई केही रकम बुझाइसकेको छ ।

तर पाण्डेले आफूले शम्भुको समूहबाट १९ लाख रुपैयाँ मात्रै लिएको बताएका छन् । नयाँ ठेक्का उनीहरूले लिएको र त्यसका लागि अष्टभैरव निर्माण सेवा कम्पनी र शम्भुको समूहबीच सम्झौता भएको पनि उनले बताएका छन् । तर उनको हत्याको सम्बन्धमा आफू अनभिज्ञ रहेको पाण्डेले बताए ।

उक्त घटनामा संलगन भएका अपराधीलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरिसकेको छ । घटनाका योजनाकारसहित तीनजना पक्राउ परे पनि यस विषयमा गम्भीर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।