श्रेष्ठ ,चौधरी र लिम्बूको हत्या घटनाका योजनाकार वर्ष ३१ का अनिल मण्डलसहित तीनजना पक्राउ

२१ माघ २०७८, शुक्रबार १४:०८

Photo साभार  : १२ खरीबाट

राजेन्द्र बहादुर श्रेष्ठ र शुम्भुकुमार चौधरीको मोरङको उखुबारीमा गाडिएको अवस्थामा शव फेला परेको थियो । यस्तै ललितलपुरमा वर्ष ६३ का मोहन लिम्बूको शव गोदाम घर रहेको कम्पाउन्ड एरियामा गाडिएको अवस्थामा फेला परेको थियो ।

तीनै जनाको हत्या घटनाका मुख्य जिम्मेवार र योजनाकार मानिएका सिरहा नगरपालिका वडा नम्बर १२ घर भई काठमाडौ बल्खु बस्ने वर्ष ३१ का अनिल मण्डल बल्खुबाट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीले जानकारी दिएका छन् ।

उक्त घटनामा संलगन भएका तीनजनलाई विराटनगरमा सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले शुक्रबार पत्रकार सम्मेलन गरी घटनामा संलग्न तीनजनलाई सार्वजनिक गरेको हो । घटनाका योजनाकारसहित तीनजना पक्राउ परे पनि यस विषयमा गम्भीर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीले भने, “अनिल मण्डलले नै काठमाडौंमा हत्या गरी पुनः मोरङ आएर अरुको हत्या गरेको रहेछन् ।” जिसीका अनुसार मुख्य योजनाकार मण्डल उता हत्या गरेर मोरङ आएर हत्या गरेका थिए ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले मोरङको जहदा गाउँपालिका वडा नम्बर ४ सिस्वनी को वर्ष २९ को अमित साह भनिने दिनानाथ सोनारलाई विराटनगर महानगरपालिका वडा नम्बर ५ दामाबन्दी चोकबाट माघ २० गते र मोरङ धनपाल थान गाउँपालिका वडा नम्बर ७ कमलपुर पश्चिम टोल बस्ने वर्ष ६२ को नासिर आलमलाई विराटनगरको मटेरुवाबाट माघ २० गते नै पक्राउ गरेको जनाइएको छ ।

गत माघ १२ गते प्रहरीले धनपालधानको उखुबारीमा सप्तरी शंभुनाथ नगरपालिका वडा नम्बर ४ बस्ने शुम्भुकुमार चौधरीको शव फेला परेको थियो । मृतकले लगाएको कपडा, जुत्ता र दाहिने हातमा बाँधेको राखी अनि रुमालको आधारमा श्रीमतीले कोसी अस्पतालमा उनको सनाखत गरेको प्रहरीले जनाएको छ । यसैगरी एउटा शव प्राप्त भएपछि प्रहरीले एक दिन होल्ड गरी अर्को दिन कुकुरसहितको प्रहरी टोलीले अनुसन्धान गर्दै जाँदा थप अर्को शव उखुबारीमै फेला पारेको थियो ।

सुनसरीको धरान उपमहानगरपालिका ३ बस्ने वर्ष ४८ को राजेन्द्रबहादुर श्रेष्ठको पहिचान उनको चालक अनुमति पत्र र कपडाको आधारमा भएको थियो । व्यवसायिक कामको सिलसिलमा अनिल मण्डल र दुबै मंसिर २९ गते विराटनगर आएका थिए । माघ ५ गते श्रेष्ठ र ७ गते चौधरीको हत्या भएको थियो ।

उखुबारीको खाल्डोमा दुबैको शव फेला परेको थियो । शव गलाउन नुन प्रयोग भएको थियो । “हामीले अनुसन्धानको क्रममा नजिक भएको मान्छे खोज्दा पहिचानको आधार कपडा, जुत्ता दाहिने नाडीमा बाँधेको राखी र रुमालले श्रीमतीले चिनिन्,” एसपी जिसीले भने,“ठूलो योजना बनाएर व्यवसायिक लाभ लिनको लागि हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । थप अनुसन्धान गरिरहेका छौं ।”

श्रेष्ठ र चौधरीलाई धनपालथान नजिकैको नहरमा हत्या गरी शव उत्तरतर्फ सय मिटर पर उखुबारीमा लगेर गाडेको पत्ता लागेको एसपी जिसीले बताए । त्यहाँ लास गलाउन प्रयोग भएको ६ पाकेट आयो नुन र खाल्डो खन्न प्रयोग भएको एउटा कोदालो बरामद भएको थियो ।

आपसी कारोबारको हकमा घटना भएको र कारोबारको विवादको कारणबारे थप अनुसन्धान गरी सार्वजनिक गरिने प्रहरीको भनाइ छ । अनुसन्धान गर्दै जाँदा सम्पर्कमा भएको एक मानिस मिसिङ भएको देखिएपछि अर्को लास ललितपुर ठेंचोमा भेटिएको प्रहरीले जनाएको छ । उक्त लास पनि कहिले हत्या गरिएको रहेछ भन्ने अुनसन्धान गर्दै जाँदा मंसिर २८ गते हत्या गरी गाडेको पत्ता लागेको मोरङ प्रहरील जनाएको छ । तेह्रथुमका वर्ष ६३ का मोहन लिम्बूको हत्यामा पनि अनिलकै संलग्ना देखिएको एसपी जिसीले सुनाए । उनको शव माघ २० गते गोदावरी नगरपालिका वडा नम्बर १२ ठेंचोस्थित गोदाम घर रहेको कम्पाउन्ड एरियामा गाडिएको अवस्थामा फेला परेको थियो ।