
मार्क जुकरबर्गले ‘फेसम्यास’ भने सन् २००३ अक्टोबर २८मा स्थापना गरेका थिए। सामाजिक संजाल ‘फेसम्यास’ को नाम परिवर्तन गरी सन् २००४ फेब्रुअरी ४ मा ‘फेसबुक’ बनाइएको थियो ।
्मार्क जुकरबर्ग हार्वड विश्वविद्यालयमा हुँदा उनले खोलेको एपकै कारण उनलाई उक्त विद्यालयबाट निकालिएको थियो। उनीमाथि लगाइएका आरोपहरु फिर्ता लिइए पछि उनले आफ्नो सेमेस्टरको प्रोजेक्टका लागि एपको विकास गरेका थिए। ‘फेसम्यास’को नाम परिवर्तन गरेपछि भने कम्पनीले सफलताको शिखर चढ्दै गयो। यो विश्वकै सर्वाधिक संचालनमा रहेको एप बन्यो। गत वर्षमात्रै फेसबुकले आफ्नो नाम फेरि परिवर्तन गरेर ‘मेटा’ राखेको छ। यद्यपि, उसले आफ्नो एपको नाम भने फेसबुक नै कायम राखेको छ।
तर अहिले भने फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ता निकै घटेका छन्। फेसबुकको १८ वर्षे इतिहासमै यस्तो गिरावट पहिलोपटक हो। २०२१ को चौथो त्रैमास (अक्टोबर — डिसेम्बर) मा सक्रिय प्रयोगकर्ता घटेर एक अर्ब ९२ करोडमा झरेको छ।
फेसबुक संचालक कम्पनी ‘मेटा’का अनुसार २०२१ को तेस्रो त्रैमासमा सक्रिय प्रयोगकर्ता एक अर्ब ९३ करोड थिए। सक्रिय प्रयोगकर्ता मात्रै नभएर फेसबुकको आम्दानीसमेत घटेको छ। फेसबुकको प्रयोगकर्ता घट्नुको कारण अरु सामानिक संजालको ‘एक्टिभ कस्टुमर’ बढ्नु हो।
टिकटक र युट्युबमा प्रयोगकर्ता झुम्मिदा त्यसको प्रत्यक्ष असर फेसबुकमा परेको छ। साथै, विज्ञापनदाताहरुले आफ्नो खर्च कटौती गरेकाले फेसबुकको आम्दानी घट्न पुगेको बताइएको छ।
सक्रिय प्रयोगकर्ता र आम्दानी गुम्नुका साथै कम्पनीको सेयर मूल्य पनि ऐतिहासिक विन्दुमा झरेको छ। बिहीबार मेटाको सेयर मूल्य २६ प्रतिशतले झरेर २३७.७६ अमेरिकी डलरमा आइपुगेको छ। जसले कम्पनीको कुल बजार पुँजीकरण दुई खर्ब ३० अर्ब डलर पुगेको छ। दैनिक रुपमा घटेको यो नै अहिलेसम्मको सबैभन्दा धेरै भएको कम्पनीले जनाएको छ।
त्यसैगरी, मेटाका सीइओ मार्क जुकरबर्गको महत्वकांक्षी ‘मेटाभर्स’ मा कम्पनीले १० अर्ब अमेरिकी डलर लगानी गरिसकेको छ। नयाँ नाममा कम्पनी गएपछि मेटाले एप्पल, गुगलसहितका प्रतिस्पर्धी कम्पनीहरुबाट इन्जिनियर नियुक्त गरिरहेको छ। मेटाका कारण कम्पनीको ध्यान अन्तै मोडिएकाले फेसबुकलाई धक्का लागेको चर्चा भइरहेको छ।
