लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
उक्त भेटवार्तामा प्रधानमन्त्री देउवाले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग अमेरिकी सहयोग सम्झौता एमसीसीको विषयमा छलफल गरेका थिए ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा दुई नेताबीच समसामयिक राजनीतिक विषयमा र एमसीसी पारित गराउने बारेमा कुराकानी भएको बताईएको छ ।
प्रधानमन्त्री देउवाले एमसीसी संसद्बाट अनुमोदन गराउने कुरा गरिरहेका छन् भने सत्तारुढ गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी आर्थिक सहयोग सम्झौता (एमसीसी) संशोधन नगरी पारित नहुने बताएका छन्।
प्रधानमन्त्री देउवाले गठबन्धन तोडेर भएपनि आफू एमसीसी पारित गराउने पक्षमा रहेको भन्दै गठबन्धनका नेताहरुमाथि दबाब बढाईरहेका छन् ।
आजमात्रै एमाले सचिव टोपबहादुर रायमाझीले कांग्रेसले सभामुख हटाउनको लागि महाभियोग प्रस्ताव ल्याए आफूहरुले सहयोग गर्ने बताईसकेका छन् ।
यही सन्दर्भमा आज भएको भेटमा प्रधानमन्त्री देउवाले भोलि सभामुख हटाउनुपर्ने अवस्था आएपनि सहयोग गर्न ठाकुरसँग आग्रह गरेको बुझिएको छ ।
