प्रतिमहिना पाँच अर्ब ऋण लिदै आयल निगम, भाउ बढाएपनि थेगेन

२० माघ २०७८, बिहीबार ०७:१८

पेट्रोलियम पदार्थको मूल्य समायोजन गरे पनि आयल निगमको घाटा न्यूनीकरणमा चुनौती थपिएको छ । सञ्चित बचत सकिएको छ । मूल्य समायोजन गरे पनि इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई भुक्तानी गर्न निगमले ऋण लिनुपर्ने बाध्यता रहेको सहप्रवक्ता पुष्कर कार्कीको भनाइ छ । प्रतिमहिना रु पाँच अर्ब ऋण लिनुपर्ने अवस्था आएको उनको भनाइ छ ।

निगमले पेट्रोलियम पदार्थ खरिद गरेबापत प्रत्येक अङ्ग्रेजी महिनाको ८ र २३ तारिखका दिन आइओसीलाई भुक्तानी गर्दै आएको छ । अघिल्लो पटक सरकारसँग सहयोग मागेर आइओसीलाई भुक्तानी गरेका निगमका अधिकारी मुखैमा आएको किस्ता कसरी तिर्ने भन्ने चिन्तित छन् ।

सञ्चित रकम र अन्य दायित्व रकम सबै पेट्रोलियम पदार्थ खरिदमा सकिएपछि निगमले गत साता सरकारसँग सहयोग मागेर आइओसीलाई भुक्तानी गरेको थियो । सरकार मातहतको मूल्य स्थिरीकरण कोषबाट समेत १ अर्ब ८० करोड रुपैयाँ लिएर निगमले आइओसीलाई पठाएको थियो ।

इन्डियन आयल कर्पोरेसन (आइओसी) ले फेब्रुअरी १ तारिखमा नयाँ मूल्य सूची पठाएको छ । पन्ध्र दिनअघिको तुलनामा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको छ । नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ ९२ पैसा, डिजेलमा प्रतिलिटर सात रुपैयाँ २४ पैसा, मट्टितेलमा प्रतिलिटर आठ रुपैयाँ ८० पैसा तथा हवाई इन्धनमा प्रतिलिटर सात रुपैयाँ ४८ पैसा बढेको छ । एलपी ग्यासमा प्रतिसिलिन्डर ८१ रुपैयाँ ६२ पैसा घटेको छ ।

पेट्रोलियम पदार्थको मूल्य बढेको भए पनि अझै मासिक साढे चार अर्ब रुपैयाँ घाटा रहेको आयल निगमले जनाएको छ । मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा करिब दुई अर्ब २३ करोड रुपैयाँ घाटा रहेको प्रवक्ता उपाध्यायको भनाइ छ । मूल्य वृद्धिपछि पनि आगामी १५ दिनमा पेट्रोलमा ४३ करोड रुपैयाँ, डिजेलमा एक अर्ब एक करोड रुपैयाँ र एलपी ग्यासमा करिब एक अर्ब रुपैयाँ घाटा हुने निगमको प्रक्षेपण छ ।

निगमलाई मट्टितेल तथा हवाई इन्धनमा भने सामान्य नाफा छ । पन्ध्र दिनमा मट्टितेलको बिक्रीबाट दुई करोड, हवाई इन्धन (आन्तरिकतर्फ) तीन करोड रुपैयाँ र हवाई इन्धन (बाह्यतर्फ) १६ करोड रुपैयाँ नाफा हुने निगमको आङ्कलन छ । डिजेल, पेट्रोल र ग्याँसको उच्च घाटा मट्टितेल तथा हवाई इन्धनको बिक्रीबाट पूर्ति हुन नसक्ने निगमले जनाएको छ ।

मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ २३ पैसा, डिजेलमा प्रतिलिटर ११ रुपैयाँ १३ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर ५६० रुपैयाँ नौ पैसा घाटा छ भने मट्टितेलमा प्रतिलिटर १८ रुपैयाँ १२ पैसा, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ ५० पैसा र बाह्य इन्धनमा प्रतिलिटर ३२ रुपैयाँ ७२ पैसा नाफा छ ।