नागढुंगा सुरूङ् विस्तारकाे काम सुस्त, समयमै सकिनेमा आशंका

१९ माघ २०७८, बुधबार ०७:४४

नागढुङ्गा सुरुङ निर्माणकाे काम सुस्त भएको छ । यहाँ कार्यरत १२७ जनामा संक्रमण देखिएपछि केही दिनयता निर्माण नियमित गतिभन्दा केही सुस्त भएको हो ।

संक्रमण देखिएका व्यक्तिमा पनि अहिले जटिल स्वास्थ्य समस्या भने छैन । कामदार निर्माणस्थलमा नै ‘आइसोलेशन’ मा बसिरहेको र अरु कर्मचारी आ–आफ्नो घरमा नै रहेको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ । शारीरिक रुपमा काम गर्न सक्ने व्यक्ति पनि रिपोर्ट ‘नेगेटिभ’ नआएसम्म काम नगर्ने आयोजनाका प्रमुख नरेशमान शाक्यले बताए ।

उनले भने, “स्वास्थ्य मापदण्डका आधारमा पनि सक्छु भने पनि नेगेटिभ नआएसम्म काममा लगाउन सकिँदैन ।” निर्माणस्थलमा सामान्य अवस्थामा ५६० जना कार्यरत रहेकामा अहिले त्यो सङ्ख्या चार सय हाराहारीमा छ ।

निर्माणस्थलमा नै प्रत्येक पाँचपाँच दिनमा कोभिड परीक्षण गरेर नेगेटिभ आउने काममा लाग्ने र पोजेटिभ आउने अरुबाट अलग बस्ने गरेको आयोजनाले जनाएको छ । आयोजनामा केही दिन पहिलेसम्म दैनिक १० मिटर खन्ने गरिएकामा अहिले जनशक्ति कम भएकाले कामको गति केही सुस्त भएको प्रमुख शाक्यले बताए ।

अहिले दैनिक ६/७ मिटर मात्रै खनिरहेको छ । सुरुङ खन्न सुरु भएदेखि नै दैनिक सात मिटर सुरुङ खन्ने योजना बनाएको भए पनि गत वर्षमा कोभिडका कारण लक्ष्यअनुसार काम हुन नसकेको उनले बताए । उनले भने, “निर्धारित समयमा काम सकाउन दैनिक १० मिटर गरेर महिनामा ३०० मिटर खन्ने गरिएकामा अहिले संक्रमण बढेकाले केही समस्या भएको छ ।”

आयोजना ४२ महिनामा सम्पन्न गर्ने लक्ष्य लिएकोमा अहिले निर्धारित समय तालिकाभन्दा निर्माण झण्डै डेढमहिना ढिला छ । निर्माणको काम गरिरहेको जापानी कम्पनीले तोकिएको अवधिभन्दा धेरै ढिला नहुने बताइरहेको प्रमुख शाक्यले जानकारी दिए ।

अबको पाँच महिनामा सुरुङ खनिसकिने गरी योजना बनाइएको छ । साउननसम्ममा सुरुङ खन्न सकिएमा त्यसपछि एक वर्ष अन्तिम काम ‘फिनिसिङ’ हुनसक्छ । अबका दिनमा अरु कुनै अवरोध नभएर सरासर काम भएमा अवधिभन्दा धेरै ढिला नहुने उनले बताए । कोरोना र अरु अवरोधका कारणले बाधा पुयाएमा भने अवधि सकिँदा काम बाँकी रहनसक्छ ।