प्रधानमन्त्री देउवा र आयोगका पदाधिकारीहरुबीच यस्तो सहमति

१८ माघ २०७८, मंगलवार १७:२५

काठामाडौं । आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने सरकार र निर्वाचन आयोगबीच सहमति भएको छ। नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीहरुबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते बुधबार एकै चरणमा गर्ने सहमति गरेको हो ।

छलफल पश्चात आयोगले सरकारलाई ६ बुदे सुझाव पत्रसमेत दिएको छ । उक्त बुँदागत पत्रमा आयोगले कोरोना महामारीबीच जेठ ४ मै स्थानीय निर्वाचन के कसरी गर्ने भन्ने बारेमा विभिन्न सुझावहरु दिएको छ ।

स्थानीय तहका जनप्रतिनिधिको पदावधि आगामी जेठ ५ गते सकिँदैछ । आयोगले त्यसभन्दा अघि नै स्थानीय तहको निर्वाचन गरिसक्नु पर्ने काुननी बाध्यता भएको सुझाव पत्रमा भनेको छ ।

प्रधानमन्त्री देउवाले आयोगसँगको परामर्शपछि तयारी अघि बढाउन समेत निर्देशन दिइसकेका छन् । साथै, सरकारले अब छिट्टै निर्वाचनको मिति घोषणा गर्नेछ ।