देउवा र प्रचण्डबीच एमसीसी अनुमोदन र चुनावको मितिबारे छलफल

१७ माघ २०७८, सोमबार १३:३२

काठमाडौं । अमेरिकाको दबाब आउन थालेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्न लागिपरेका छन् । अमेरिकी आर्थिक सहयोग (एमसीसी) सम्झौता अनुमोदनको विषयलाई लिएर सत्ता गठबन्धनमा बहस चलिरहेको छ । बहस चलिरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान देउवा र प्रचण्डबीच एमसीसी अनुमोदन र चुनावको मितिबारे छलफल भएको हो ।

गठबन्धनमा स्थानीय तहको चुनाव जेठमा गर्ने सहमति भएसँगै एमसीसीको विवाद बल्झेको छ । जेठमा चुनाव गर्ने गरी मिति घोषणा गर्न गठबन्धनले सुझाव दिए पनि सरकारले मिति घोषणा गर्न सकेको छैन ।

प्रधानमन्त्री देउवाले स्थानीय तहको चुनाव मिति घोषणा सँगसँगै एमसीसी अनुमोदन गर्न प्रस्ताव गरेका छन् । शनिवार बसेको उच्चस्तरीय संयन्त्रको बैठकमा देउवाले एमसीसी अनुमोदन गर्न प्रस्ताव गरेका थिए ।