दुमन सिंह थापाको निधनले अर्घाखाँची बासी शोकमा

१७ माघ २०७८, सोमबार ११:०१

काठमाडौं । एमालेबाट निर्वाचित पुर्व संविधान सभा सदस्य दुमन सिंह थापाको आईतवार अपरान्ह ४ बजे ६२ बर्षको अल्प आयु उमेरमा काठमाडौंको हेम्स हस्पिटलमा उपचारको क्रममा निधन भएको छ।

थापाको निधनले सम्पूर्ण अर्घाखाँची बासीलाई शोकमा डुबाएको छ । दुमन थापा अर्घाखाँची जिल्लाको एक असल साहसिक र इच्छाशक्ति भएको राजनीतिक नेता थिए।
जनताका लोकप्रिय बिकसप्रेमी नेता दुमन थापाको भौतिक शरीर अब नरहे पनि जिल्लाबासीको मनमा उनी सधै अटल रहनेगरी बिदा भएका छन् ।

नरपानीमा जन्मेका थापाले २०७० सालमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट संबिधान सभामा तत्कालीन एमालेबाट चुनाव जितेका थिए । जब एमाले विभाजन भयो त्यस पछि भने उनी नेकपा (एकीकृत समाजवादी) पार्टीका निर्वाचन आयोगका सदस्य थिए । थापालाई कोरोना संक्रमण भएको थियो । थापाको करिब दुई बर्ष अगाडि मृगौला प्रत्यारोपण भएको थियो ।

एकीकृत समाजवादी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले थापाको निधनले आफु स्तब्ध भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा “हार्दिक श्रद्धान्जली ! हाम्रो पार्टी नेकपा(एकीकृत समाजवादी) केन्द्रीय निर्वाचन आयोग सदस्य तथा संविधानसभा सदस्य कमरेड डा. दुमनसिंह थापाको अप्रत्यासित दुःखद निधनको खबरले मलाई स्तब्ध बनाएको छ । दुःखको यस घडिमा कमरेड डा.दुमनसिंह थापाप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु”