सत्तारुढ गठबन्धनले अबको १५ दिन भित्र अमेरिकी सहयोग परियोजना (एमसीसी) निर्णायक तहमा पुर्याउने सहमति भएको छ ।
गठबन्धनलाई बलियो बनाउने र निरन्तर कायम राख्ने हो भने एमसीसी तत्काल पास गर्नुपर्ने अडान प्रधानमन्त्री एंव कांग्रेस सभापति शेरबहादुर देउवाले राखेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच सहमति भएको बाहिर आएको छ ।
कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई साक्षि राखेर गठबन्धन टिकाउने सर्तमा एमसीसी पास गर्न सहमति जुटेको स्रोतले बताएको छ । प्रचण्ड र नेपालले आफ्नो पार्टीमा आन्तरिक सहमति र छलफलको लागि १० दिन समय मागेपछि आइतवारलाई बोलाइएको प्रतिनिधि सभाको बैठक कोरोना संक्रमणको कारण देखाउँदै १० दिन पर धकेलिएको छ ।
प्रधानमन्त्री देउवा स्वयमले एमसीसी पास नगरि अरु कुनै पनि गतिविधि अगाडी नबढ्ने बताएपछि सत्तारुढ गठबन्धन दल सहमतिमा आएको स्रोतको दावी छ ।
सहमति कायम गर्दै नेताद्धय प्रचण्ड र नेपालले स्थानीय तहको निर्वाचनसम्मै गठबन्धनको सहकार्य हुनुपर्ने प्रस्ताव राखेका थिए । तीन नेताको गोप्य बैठकमा कांग्रेस बरिष्ठ नेता पौडेल पनि सहभागी थिए । उनले स्थानीय तहको निर्वाचनसम्मै गठबन्धनलाई सहकार्यमा राख्ने हो भने एमसीसी पास गर्नैपर्ने बाध्यता छ भनेपछि प्रचण्ड र नेपाल तयार भएको बताईएको छ ।
