आगामी जेठभित्र सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेसँगै साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा सकारात्मक माहोल सिर्जना भएको छ ।
बालुवाटारमा शनिबार सम्पन्न गठबन्धनको बैठकले जेठभित्र चुनाव सम्पन्न गर्न ५ दलीय संयन्त्र मार्फत् सरकारलाई सुझाव दिने निर्णय गरेको थियो । त्यसैको सकारात्मक प्रभाव आज बजारमा सकारात्मक उछाल आएको हो ।
आइतबार दुई घण्टा अवधिमा नेप्से ६५.७३ अंकले बढेर २८४५ दशमलव ७१ बिन्दुमा पुगेको छ । नेप्से २.३६ प्रतिशतले बढेको हो ।
समाचार तयार पार्दासम्म २२० वटा कम्पनीको ५८ लाख ६८ हजार ५७४ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब १२ करोड ८९ लाख रूपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबारमा आएका सबै उपसमुहगत सूचकम हरियाली छाउँदा विन नेपाल लघुवित्त र बृद्धभुमी हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । म्युचुअल फण्डका इकाईहरुको मूल्यमा आज गिरावट देखिएको छ ।
कारोबार रकमका आधरमा अपि पावरको सबैभन्दा धेरै १४ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। अरुण भ्याली हाइड्रोपावर, एचआईडिसीएल, नेशनल हाइड्रोपावर, अपर तामाकोशी, नेशनल लाइफ, शिखर इन्स्योरेन्स, र नेपाल लाइफको सबैभन्दा धेरै कारोबार भएको छ ।
