काठमाडौं । विराटनगरस्थित कोइराला निवासमा माघ १६ गते (आज) सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै डा.शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताएका छन्। लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक भएकाले कुनै पनि बहानामा निर्वाचन सार्न नहुने उनको भनाइ थियो।
सरकारले निर्वाचनका विषयमा सीधै निर्वाचन आयोगसँग छलफल गरी टुङ्गो लगाउनुपर्ने र ऐन कानून परिवर्तन गरेर निर्वाचन सार्न नहुने बताउँदै डा. कोइरालाले भने, “गठबन्धन दलसँग भन्दा पनि सरकारले निर्वाचन आयोगसँग छलफल गर्दा राम्रो हुनेछ।”
सञ्चारकर्मीहरुको प्रश्नको जवाफमा डा.कोइरालाले कांग्रेसको १४औं महाधिवेशनमा पराजित वरिष्ठ नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुपर्ने बताए। यसका लागि आफूले नेतृत्वलाई सुझाव दिने उनेको भनाइ थियो।
त्यस्तै, प्रदेश १ को नामकरण पनि छिट्टै गर्नुपर्नेमा उनको जोड थियो। मन्त्रालय टुक्र्याउने र मन्त्रीको सङ्ख्या बढाउने कुराले सुशासनमा असर पर्ने उनको भनाइ थियो।
देशको आर्थिक अवस्थालाई ध्यानमा राखेर प्रदेश सरकारले आफ्नो सरकार विस्तार गर्नुपर्ने उनले बताए। डा. कोइरालाले भने, “प्रदेश सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी हुनुपर्छ।”
