अभियान लघुवित्तले ९ करोड ७५ लाखको आईपीओ जारी गर्ने

१४ माघ २०७८, शुक्रबार ०७:४१

अभियान लघुवित्त वित्तीय संस्थाले प्रति शेयर एक सय रुपैयाँ अंकित दरको ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्ने भएको छ ।

आईपीओ निष्काशनको लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

साधारण शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा अभियान लघुवित्त वित्तीय संस्थाका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रोशन कुमार अधिकारी र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरे ।

हाल अभियान लघुवित्त वित्तीय संस्थाको अधिकृत पूँजी ३० करोड, जारी पूँजी २५ करोड र चुक्ता पूँजी १५ करोड २५ लाख रहेकोछ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी २५ करोड हुनेछ ।

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भई मिति २०७६-६-१ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त गरी राष्ट्रिय स्तरको “घ” बर्गको वित्तीय संस्थाको रुपमा स्थापित तथा संचालित लघुवित्त वित्तीय संस्था हो ।

यस वित्तीय संस्थाले २०७६ साल मंसीर महिना १ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो । पनौती, काभ्रेमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले नेपाल राज्यभर ६० वटा शाखा कार्यालय मार्फत २४ हजार ८८३ जना विपन्न वर्गका महिलाहरुलाई समूहमा आबद्घ गरी २४ करोड ६२ लाख ९५ हजार बचत संकलन तथा १ अर्ब ९९ करोड ९० लाख २९ हजार कर्जा प्रवाह रहेको छ ।

यसैगरी आ.ब.०७७/०७८ को आषाढ मसान्त सम्ममा १ करोड ७७ लाख खूद मुनाफामा रहेको यस वित्तीय संस्था चालुु आ.ब.को दोश्रो त्रैमासिक अवधि सम्ममा १ करोड ३७ लाख खुद मुुनाफा आर्जन गर्न सफल भएको छ ।