व्यापारमा चीनको अघाेषित नाकाबन्दी ! सामना गर्दै नेपाल

१२ माघ २०७८, बुधबार ०७:२०

चीनले नेपालमा अघाेषित नाकाबन्दी लगाएको छ, जसकारण चीनतर्फको तहसनहस देखिएको छ ।

रसुवा भन्सार कार्यालय टिमुरेबाट ४ अर्ब ३३ करोडभन्दा बढी राजस्व संकलन हुँदा निर्यात शून्य भएको छ । यो साउनदेखि पुस मसान्तसम्ममा रसुवागढी नाकाबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार मूल्यांकनबाट प्राप्त राजस्वको आँकडा हो ।

प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीका अनुसार ६ महीनाको अवधिमा ४ अर्ब ३३ करोड ४५ लाख ९ हजार संकलन भएको छ । कोभिड संक्रमणको शुरुआतपछि चिनियाँ पक्षले दैनिक नौओटा कन्टेनरमार्फत रसुवागढीको मितेरी पुलछेउमा सामान पुर्‍याउने गरेको छ ।

ती पनि नियमित छैनन् ।

व्यापारी, व्यवसायी र निजी कम्पनीमार्फत आयात गरिएका सामग्रीमा लाग्ने शुल्कबापतको राजस्व असुली भएको छ । चीनतर्फ जाने निर्यात भने शून्य छ ।

दुई आर्थिक वर्षको राजस्व असुली तुलनात्मक रूपमा हेर्दा यस वर्ष  साढे दुई गुनाले बढेको भने देखिन्छ । गतवर्षको यस अवधिमा १ अर्ब ७२ करोड २४ लाख २ हजार मात्र असुली भएको थियो । साना–ठूला सबै प्रकारका सवारीसाधन, निर्माणाधीन हाइड्रोपावरका उपकरण, स्याउ, ओखर, तयारी पोशाक, जुत्ताचप्पल, बच्चाका खेलौना, रोल कपडा, विद्युतीय सामग्रीजस्ता विविध सामग्री आयात भइरहेको भन्सार कार्यालय टिमुरेले बताएको छ ।

यस वर्षको वार्षिक असुली लक्ष्य भने ६ अर्ब ८१ करोड ११ लाख रहेको छ । सवारीसाधन बढी मात्रामा आयात हुन थालेसँगै राजस्वमा वृद्धि हुन थालेको अधिकारीहरू बताउँछन्  । गतवर्षदेखि हालसम्म जुमक्रेन, टिपर, एम्बुलेन्स, माइक्रोबस, मिनीबस, जीप तथा कारसमेतका १ हजारभन्दा बढी सवारी आयात भइसकेको बताइएको छ ।
कोरोना संक्रमण नियन्त्रणका लागि सामान पल्टी गर्दा क्वारेटाइनमा राखिएका कामदार मात्र मितेरी पुलमा परिचालन गरिएको छ ।