
काठमाडौं । नेकपा माओवादी (केन्द्र) का नेता वर्षमान पुन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न उनको निवास खुमलटार पुगेका छन् ।
चीनमा स्वास्थ्योपचार गरी स्वदेश फर्किएका पुन आज बिहान खुमलटार पुगेका हुन् । प्रचण्डले स्वागतसँगै पुनको पूर्ण स्वास्थ्यलाभको कामना गरेको उनको सचिवालयले जनाएको छ ।
“लामो समयको उपचारपश्चात् स्वदेश फर्किनुभएका हाम्रो पार्टीका नेता वर्षमान पुन ‘अनन्त’लाई अध्यक्ष कमरेड प्रचण्डले निवास खुमलटारमा स्वागत तथा उहाँको पूर्ण स्वास्थ्यलाभको कामना गर्नुभयो,” प्रचण्डको सचिवालयले भनेको छ ।
पुन पार्टीभित्र महासचिव पदका दाबेदार हुन् । सोमबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा पत्रकारसँग कुराकानी गर्दै उनले आफू पहिले नै सचिव भइसकेकाले महासचिवमा दाबेदारी स्वाभाविक भएको बताएका थिए ।
“सहमति जुट्न सकेन भने प्रक्रिया होस्, त्यसमा म फेस गर्न चाहन्छु । पार्टी अध्यक्ष र नेताहरूलाई मैले उतैबाट पनि भनेको थिएँ । मलाई विश्वास छ, पार्टीले सहमतिमै टुंगो लगाउनेछ,” उनले भनेका थिए ।
