काठमाडौं । कोभिडको तेस्रो भेरियन्टका कारण यातायात कार्यालयबाट प्राप्त हुने सेवा पुनः प्रभावित बन्न थालेका छन् ।
यातायात कार्यालयका कर्मचारीमा नै कोरोना संक्रमण देखिएको भन्दै यातायात कार्यालयहरूले सेवा कटौती सुरु गरेका छन् ।
यातायात व्यवस्था कार्यालय एकान्त कुनाले प्रदान गर्दै आएको सेवाहरूमा कटौती गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै धेरै कर्मचारीमा कोरोना संक्रमण भएका कारण नवीकरण र ट्रायलबाहेक अरू सेवाहरू स्थगित गरेको जानकारी गराएको छ । योसँगै अब यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट नवीकरण र ट्रायलबाहेकका सेवा हाललाई बन्द गरिएका छन् । अन्य यातायात कार्यालयहरूले पनि भिडभाड कम गर्न भन्दै सेवामा कटौती गर्न थालेको पाइएको छ ।
कार्यालयले कोरोनाको बढ्दो त्रासले भिडभाडमा काम गर्दा सेवाग्राहीहरूको स्वास्थ्यमा समेत असर पर्ने भएकाले सेवाहरू स्थगित गरिएको जनाएको छ । एकान्तकुना कार्यालयले लाइसेन्स नवीकरणका लागि दिनको १ सय टोकन र अरू ट्रायलको मात्र सेवा प्रदान हुने सूचनामा उल्लेख गरेको छ । कार्यालयले यो सेवा लिन आउने सेवाग्राहीसँग खोपकार्ड भने अनिवार्य हुनुपर्ने जनाएको छ ।
यातायात व्यवस्था विभागले कोरोनाको दोस्रो लहर सुरु भएपछि बन्द हुन पुगेको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स)को परीक्षा लागि नयाँ आवेदन सात महिनापछि गत कात्तिकमा मात्रै खुला गरेको थियो ।
कोभिड–१९ को दोस्रो चरणको महामारी फैलिएसँगै गत १६ वैशाखदेखि लाइसेन्सको नयाँ अनलाइन आवेदन बन्द भएको थियो ।
त्यसअघि, कोभिड–१९ कारण स्थगित लाइसेन्स परीक्षा भदौ तेस्रो साता खुलाइएको थियो । त्यसयता, विभागले ट्रायल परीक्षा सञ्चालनका लागि कोभिड–१९ संक्रमणको विशेष अवस्थामा सवारीचालक अनुमतिपत्र परीक्षा (सञ्चालन तथा व्यवस्थापन)सम्बन्धी मापदण्ड २०७८ ल्याएर ट्रायल परीक्षा सञ्चालन गराउँदै आएको छ ।
।
२०७६ चैतको लकडाउनपछि सरकारले करिब ६ महिनापछि मात्र अनलाइन प्रणालीमा आवेदन खुलाएको थियो । अनलाइन प्रणालीमार्फत ट्रायल परीक्षाका लागि आवेदन दिनेहरूले पालो कुर्दाकुर्दै कोरोनाको दोस्रो भेरियन्टको संक्रमण बढेपछि पुनः ट्रायल परीक्षा नै बन्द हुन पुगेको थियो ।
अहिले पुनः कोरोनाको तेस्रो भेरियन्ट उच्च रूपमा फैलिएसँगै पुनः सेवा ठप्प हुने त्रास बढेको छ । यातायात कार्यालयका अनुसार करिब ५ लाखले ट्रायलका लागि पालो कुरेर बसेका छन् ।
