अनलाइनमा जुवाडेहरू सल्बलाउदै, प्रहरीले निगरानी बढायाे

७ माघ २०७८, शुक्रबार १४:३४

हिजोआज जुवा खेल्ने,खेलाउने तरिका फेरिएको छ ।
प्रहरीले जुवाकाे अखडामा छापा मार्ने क्रम बढाएपछि जुवाडेहरू तरिका फेरेका छन । उनीहरूले अनलाइनलाई माध्यम बनाएर जुवा खेलाउन थालेकाे प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरीका अनुसार अहिले जुवाडेहरू अनलाइनमा सल्बलाएसँगै निगरानी बढाइएको छ ।

हालै मात्र काठमाडौँको कीर्तिपुर नगरपालिकाका विभिन्न स्थानमा सम्पत्ति हारजित हुनेगरी अनलाइनमार्फत जुवा खेलाउने गरेको एउटा गिरोहमाथि प्रहरीले अप्रेसन गर्याे  । त्यसक्रममा अनलाइनबाट जुवा खेल्ने, खेलाउने  गिरोहका १२ जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले कीर्तिपुर नगरपालिका–६ चोभारबाट अनलाइनमार्फत जुवा खेलाइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौँको कीर्तिपुर–६ चोभारका सुजेन्द्र थापा, सोही ठाउँका मनिष थापा, समीर थापा, कविता थापा, रविन खड्का, कीर्तिपुरकै बुद्ध महर्जन, रोजा महर्जन, साहिल महर्जन, हनिशा महर्जन, प्रदीपमान सिंह बस्नेत र रमादेवि श्रेष्ठ छन् । उनीहरुको साथबाट १७ थान मोबाइल, १४ थान ल्यापटपलगायत सामग्री बरामद गरिएको महाशाखाले जनाएको छ ।

पक्राउ परेकालाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर, काठमाडौँको जिम्मा लगाएको छ । सुजेन्द्र थापा, प्रदीपमान सिंह बस्नेत र बुद्ध महर्जनले आवश्यक व्यवस्था गरी तीन घरमा २४सै घण्टा अनलाइनमार्फत जुवा खेलाउन कर्मचारीसमेत राखेको खुलेको छ ।

यसरी खटिएका कर्मचारीले फेसबुकमार्फत अमेरिका तथा युरोपका विभिन्न देशका नागरिकलाई साथी बनाई विभिन्न खेलमा अमेरिकन डलर लोड गर्न लगाई खेल खेल्न लगाउने तथा जित्ने पक्षलाई तोकिएको धनरासीसमेत पुरस्कारका रुपमा दिने गरेको पाइएको छ ।

अनुसन्धानका क्रममा १० महिना अगाडिदेखि महिनाको करिब एक लाख अमेरिकी डलर रकम हारजित हुने गरी अनलाइनमार्फत् जुवा खेलाउने गरेको पाइएको छ ।

यसरी अनलाइनबाट जुवा खेलाउनेहरू बढेको आंशकामा प्रहरीले थप निगरानी बढाएको अनुसन्धान अधिकारीहरूले बताएका छन् ।