
काठमाडौं । कोरोना संक्रमणको तेश्रो लहरपछि पहिलोपटक वीरगञ्जमा एक जनाको मृत्यु भएको छ । नारायणी अस्पताल वीरगञ्जमा गएराति भर्ना भएका ५० वर्षीय एक कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा बारा जिल्ला महागढीमाई नगरपालिका ६ का ५० वर्षीय पुरुष रहेका छन् ।
अस्पतालका कोभिड संयोजक डा.उदयनारायण सिंहका अनुसार राति साढे ८ बजे निजी अस्पतालबाट नारायणी अस्पतालमा भर्ना हुन आएका पुरुषको राति पौने १२ बजे उपचारका क्रममा मृत्यु भएको हो । मृतक पुरुषले कोरोना संक्रमण विरुद्धको खोप लिएका थिएनन् । माघ ६ गते एन्टिजेन पोजेटिभ भएका उनी गम्भीर किसिमको कोभिड निमोनियाको लक्षण देखिएपछि अस्पतालमा भर्ना भएका थिए ।
संयोजक डा. सिंहका अनुसार अस्पताल भर्ना गर्दा उनको शरीरमा हाइपोग्लाइसेमिया ह्रास भएको अवस्था थियो ।
