
काठमाडौं । सुनसरी जिल्लाको बर्जु गाउँपालिकास्थित सिमसार क्षेत्रमा अवस्थित छ, १५२ बिघा क्षेत्रफलमा फैलिएको बुर्जुताल पर्यटकीय सम्भाव्यता बोकेको यही तालको प्रचारप्रसारका निम्ति तीन वर्षदेखि बर्जु महोत्सव आयोजना हुँदै आएको छ ।
यसपाली पुस २३ गतेबाट तेस्रो बर्जु महोत्सव सुरू भएको थियो । तर, यसको अन्त्य निकै दुःखद ढंगले भयो । अन्तिम दिन मंगलबार एक भारतीय कलाकारलाई बोलाएर भव्य समापन गर्ने तयारी आयोजकले गरेका थिए । तर, कार्यक्रम मात्रै विथोलिएन कि ठूलो भौतिक क्षतिसमेत भएको छ ।
भोजपुरी स्टार खेसरीलाल यादवलाई कार्यक्रमस्थलमा पुग्न प्रहरीले रोकपछि दर्शकले वितण्डा मच्चाएका थिए । ठूलो आर्थिक नोक्सानी खेप्नु परेपछि आयोजक बर्जु सामुदायिक विकास केन्द्र अहिले संकटमा परेको छ ।
आयोजकले जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर नै महोत्सवको आयोजना गरेको थियो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले १२ दिने महोत्सवका लागि आफूहरुलाई पूर्वस्वीकृति दिएको आयोजक संस्थाका श्रवण चौधरीले बताए ।
उनले भने, ‘त्यसबेला नै हामीलाई कोरोनाको कारण देखाएर रोक लगाइएको भए यो अवस्था आउने नै थिएन ।’
महोत्सव १० दिनसम्म निर्वाध चलेको थियो । पुस २ गते प्रशासनबाट महोत्सव रोक्नका लागि आदेश आएको चौधरीको स्वीकारोक्ति छ ।
उनले भने, ‘प्रहरी र प्रशासनबाट हामीलाई आदेश आएको हो । तर, हामीले भारतीय कलाकारलाई महँगो पारिश्रमिक दिइसकेका थियौं । त्यसैले ४ गतेको कार्यक्रम नरोकिदिन बारम्बार अनुरोध गरेका थियौं ।’
आयोजकले भारतमै पुगेर यादवलाई १० लाख भारु (१६ लाख रूपैयाँ) पारिश्रमिक अग्रिम भुक्तानी गरेको थियो । तर, कार्यक्रम रोक्न दवाव आएपछि आयोजक समस्यामा पर्यो । यता पारिश्रमिक लिइसकेका यादवले पैसा फिर्ता गर्न चाहेनन् ।
प्रशासनले कार्यक्रम रोक्न आदेश दिएकोबारे आफूलाई पूर्वसूचना नगरिएको दावी यादवले गरेका छन् । तर, जिल्ला प्रशासन कार्यालयबाटै उनलाई कार्यक्रममा नआउन खबर गरिएको स्रोतले बतायो ।
‘कोरोनाका कारण भीडभाड हुने कार्यक्रममा रोक लगाइएको भनेर उहाँलाई अग्रिम जानकारी गराइएको थियो, तर तपाईंहरूको कुरा आपसमा मिलाउनुस्, भन्ने जवाफ मिल्यो,’ स्रोतले भन्यो ।
यादव ३० जनाको टोली लिएर कार्यक्रमका लागि हिजो बिहान ७ बजे नेपाल प्रवेश गरेका थिए । आयोजकले उनीहरुलाई बिराटनगरको एउटा होटलमा लगेर राख्यो । ११ बजे सुरू हुने कार्यक्रमका लागि यादवको टोलीका सबै सदस्यहरू पाँचवटा स्कर्पियो लिएर होटलबाट महोत्सवस्थलमा पुगेका थिए । उनीहरुलाई प्रहरीले रोकटोक गरेन ।
तर, करिब १० बजेतिर यादव जान लाग्दा भने प्रहरी टोली होटल आएर उनलाई घेराउ गरेको थियो । प्रशासनको निर्देशनविपरीत कार्यक्रम गर्न लागिएकाले सुरक्षाको जिम्मेवारी लिन नसक्ने प्रहरीले बताएपछि यादव होटलमै रोकिए ।
प्रहरीले समयमै कार्यक्रममा हस्तक्षेप नगर्दा दुःखद घटना निम्तिएको आयोजकको गुनासो छ ।
चौधरीले भने, ‘अरु कलाकारलाई पनि जान रोकेर कार्यक्रमस्थलमा सुरूमै हस्तक्षेप गरेको भए यो अवस्था आउने थिएन ।’
यादव नआएपछि कार्यक्रम बिथोलियो । आयोजकले बिहानबाट टिकट बेच्न थालेका थिए । कुर्सीमा बस्नेलाई ५ सय रुपैयाँ र भुइँमा बस्नेलाई ३ सय रूपैयाँको टिकट तोकिएको थियो । एक हजारदेखि १५ सयजति टिकट बिकेको हुन सक्ने चौधरीले बताए । हुलदंगाका क्रममा टिकटबाट उठेको सबै रकम लुटपाट भएको उनको भनाइ छ ।
‘आक्रोशित दर्शकले काउन्टरमा समेत आक्रमण गरेर हाम्रो सबै पैसा लुटेर लगे । १०–१२ लाख जति थियो होला,’ उनले भने ।
प्रहरी भन्छ गाउँपालिका अध्यक्ष जिम्मेवार
प्रहरीले भने पटक पटक लिखित आदेश दिँदा पनि कार्यक्रम आयोजक र बर्जु गाउँपालिकाको अध्यक्षले जबरजस्ती गर्दा दुस्खद घटना भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले संस्थाको नाममा गरिएको भए पनि यो महोत्सवको मुख्य आयोजक बर्जु गाउँपालिका नै भएको बताए ।
उनले भने, ‘केन्द्र सरकारले कोभिडका कारण २५ जनाभन्दा बढी जम्मा हुन नपाइने निर्णय २६ गते गरेसँगै २८ गते जिप्रकाबाट सबै गाउँपालिकालाई यस्ता कार्यक्रम रोक्न पत्राचार गरिएको थियो । त्यसको अटेर गर्दै महोत्सव जारी राखिएपछि माघ २ गते फेरि बर्जु गाउँपालिकालाई लिखित निर्देशन दिइयो । गाउँपालिका अध्यक्षलाई नै सीडीओ कार्यालयमा बोलाएर सम्झाउने प्रयास गरियो । तर, उनले अटेर गरे । जिप्रकाको निर्देशनको अवज्ञा गरेकाले यसमा गाउँपालिका अध्यक्ष पूर्णरुपमा जिम्मेवार छन् ।’
साभार: Nepalpress
